ढोका थुनेर ऐन, कानून नबनाउन यातायात व्यवसायीको चेतावनी


     एभरेस्ट आवाज    
     असार २८ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ

पोखरा, असार २८

सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन सम्बन्धी ऐन बनाउने तयारी गरेपछि यातायात व्यवसायीहरु रुष्ट बनेका छन् । ट्राफिक नियम उलंघनकर्तालाई ५ हजारदेखि एक लाखसम्म जरिवाना शुल्क लिनेगरी यातायात सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयार भएपछि उनीहरु झस्किएका हुन् । त्यसलाई सुधार्नका लागि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भेट्न गरेको प्रयासले सार्थकता नपाएपछि उनीहरु थप आक्रोषित भएका छन् ।

महासंघ गण्डकी प्रदेशले आईतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी यातायात व्यवसायीले सो मस्यौदाको खुलेर विरोध गरे । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले यातायात क्षेत्रसम्बन्धी ऐन आफूहरुको सहमति बिना नबनाउन चेतावनी दिए । प्रधानमन्त्रीलाई भेट्न गरेको बारम्बारको प्रयास सफल नभएको बताउँदै उनले भने,‘यातायात सम्बन्धी ऐन, कानून ढोका थुनेर नबनाउन आग्रह गर्दछु ।’ उनले यसअघिका सरकारसँग भएको सहमति र तिनले दिएको प्रतिवेदनका आधारमा यातायात क्षेत्र सुधार्न सकिने बताए । यसअघिका भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठको पालामा एक वर्ष लगाएर प्रतिवेदन बनेको बताउँदै उनले थपे,‘त्यो प्रतिवेदन कार्यान्वयन हुने हो भने हाम्रो यातायात क्षेत्र कायापलट हुन्छ, अरु केहि गर्नै पर्दैन ।’

महासंघका द्वितीय बरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले चर्को जरिवाना लिनु जनतामाथिको ज्यादती हुने बताए । उनले भने,‘पहिले सडक पूर्वाधार बनाउनुपर्छ, त्यसपछि जनताको आम्दानी बढाएर जीवनस्तर उकासेपछिमात्रै यतिधेरै जरिवाना लगाउनुहोला, नत्र अहिलेको अवस्थामा तिर्ने अवस्था छैन ।’

महासंघका तृतीय उपाध्यक्ष केदार पौडेलले व्यवसायीसँग छलफल नै नगरी चर्को शुल्क लिने निर्णय भए मान्य नहुने चेतावनी दिए । उनले भने,‘तिर्नै नसक्ने चर्को शुल्क मान्य हुनेछैन ।’

महासंघ गण्डकी प्रदेश अध्यक्ष महेशबहादुर थापाले गाडीको मूल्यभन्दा जरिवाना बढी लिनेगरी ऐन बन्न लागेको हल्लाले यातायात व्यवसायीहरु त्रसित बनेको बताए । यो नेपालीले तिर्न सक्ने खालको छैन,उनले भने,‘यहि कारण भोलि फेरी अर्को गणेश नेपाली घटना नदोहोरियोस् ।’

महासंघ ट्याक्सीका वर्गिय संयोजक प्रकाशमणी तिवारीले चर्को शुल्क लिदैमा ट्राफिक नियम लागु हुन्छ भन्नु शाषकको भ्रममात्र भएको टिप्पणी गरे । महासंघ गण्डकीका सचिव अर्जुन पौडेलले व्यवसायीका कुरा सुनेर देश सुहाउँदो ऐन, कानून बनाएर कार्यान्वयन गर्न आग्रह गरे । अन्यथा चर्को शुल्क लागु गरे त्यो मान्य नहुने उनको चेतावनी थियो ।

कार्यक्रममा गण्डकी प्रदेशबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान गरिएको थियो भने प्रदेशका कार्यसमिति सदस्यमा मनोनयन भएकाहरुलाई सफत खुवाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।