गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह


     एभरेस्ट आवाज    
     असार ३० गते २०८३ मा प्रकाशित




काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी २४ घण्टाभित्र भारी वर्षाको सम्भावना औँल्याउँदै बाढी, पहिरो र गेग्रान बहावको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान विशेष जोखिममा रहेको विभागले जनाएको छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए त्यसलाई भारी वर्षा मानिने विभागले जनाएको छ।
विभागका अनुसार वर्षासँगै बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न विभागले अनुरोध गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।