देशका बिभिन्न भागमा आज राति पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कास्कीसहित देशका विभिन्न ५ जिल्लामा बाढीको उच्च जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ । यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।विभागको जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । सोमबार बिहान ३३५ वटा वर्षा मापन केन्द्रहरुमा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ । केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ ।
लगातारको अविरल वर्षाले कास्कीको रुपा गाउँपालिका–७ मा एक घर पूर्ण रूपमा भत्किएको छ। घरधनी गोठमा काम गर्न गएका बेला घर भत्किएकाले ठूलो मानवीय दुर्घटना भने टरेको छ।रुपा गाउँपालिका–७ निवासी पूर्णबहादुर भुजेलको घर आइतबार बिहान भत्किएको हो। घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि घटना हुँदा परिवारका सदस्य घरभित्र नरहेकाले मानवीय क्षति नभएको गाउँपालिकाले जनाएको छ।गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार पीडित परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारी गरिएको छ। घटनापछि क्षतिको विवरण संकलन गर्ने कामसमेत सुरु गरिएको उनले बताए।
अध्यक्ष ओझाले निरन्तर वर्षाका कारण पहिरो र घर भत्किने जोखिम बढेकाले जोखिमयुक्त बस्तीका स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। मौसममा तत्काल सुधार नआएकाले आवश्यक परे सुरक्षित स्थानमा सर्नसमेत उनले अनुरोध गरेका छन्।लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्तापूर्वमा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ ।
दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् भने नियमित पूजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन् ।पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो ।
सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौँ जाने सवारीसाधान चल्न सकेका छैनन् । काठमाडौँदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपाल छुटेको यात्रीबस पनि सडकमै अलपत्र परेको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् ।मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेका अनुसार, बा प्र ०२ ०३२ प ८०५४ नम्बरको स्कुटर भेटिएको छ । चालकको खोजी जारी छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन…





