टप्सको प्राचार्यमा अधिकारी, पोखराकै अब्बल विद्यालय बनाउने बाचा


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८३ मा प्रकाशित




पोखरा । पोखराका वरिष्ठ शिक्षाविद् तथा रसायनशास्त्रका अध्यापक डा. झपिन्द्र अधिकारी टप्स माध्यमिक विद्यालयको प्राचार्यमा नियुक्त भएका छन्। गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हालेका अधिकारीले अब टप्सलाई पोखराकै अब्बल विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रसायनशास्त्रमा विद्यावारिधि (PhD) गरेका डा. अधिकारी लामो समयदेखि विद्यालय शिक्षा, शैक्षिक नेतृत्व र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा सक्रिय छन्। उनी गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हाल्दै गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि परिचित छन्।
पदभार ग्रहणपछि अधिकारीले विद्यालयलाई उत्कृष्ट नतिजा दिने संस्थामा मात्र सीमित नराखी असल चरित्र, नेतृत्व क्षमता, अनुसन्धानमुखी सोच र व्यावहारिक सीप भएका नागरिक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने बताए। ‘विद्यार्थीले राम्रो जिपिए मात्रै होइन, जहाँ पुगे पनि आफ्नो क्षमता र संस्कारका कारण चिनिने नागरिक बन्नुपर्छ,’ उनले भने।
विद्यालयका अध्यक्ष बलबहादुर थापाले अधिकारीको अनुभव र शैक्षिक नेतृत्वले टप्सलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनका अनुसार नयाँ व्यवस्थापनले एक वर्षमै विद्यालयको भौतिक र शैक्षिक कायापलट गरेको छ। गत वर्ष ४ सय ५० विद्यार्थी रहेको विद्यालयमा अहिले १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्। करिब ६५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रयोगशाला, स्मार्ट कक्षाकोठा, कम्प्युटर ल्याब तथा अन्य पूर्वाधार विस्तार गरिएको विद्यालयले जनाएको छ। प्राचार्य अधिकारीको पदस्थापन कार्यक्रममा विद्यालयकी प्राइमरी इन्चार्ज पद्मा पराजुलीले प्राचार्य अधिकारीको परिचय गराएकी थिइन्। अधिकारीको शैक्षिक यात्रा, नेतृत्व क्षमता र अनुभवबारे परिचय गराउँदै अधिकारीको नेतृत्वमा टप्सले शैक्षिक क्षेत्रमा नयाँ उचाइ र नयाँ गति लिने विश्वास व्यक्त गरिन्।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन भइरहेको छ भने विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय सञ्चालनमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।