भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित,खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८३ मा प्रकाशित




रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ ।

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ ।

यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ ।बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ ।तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् । त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।

त्यसैगरी, धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । गजुरीस्थित बाहिनी ६ नं अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति पनि परिचालन भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।