पोखरा । पोखराको पुरानो सामाजिक–व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । महाधिवेशनमार्फत संघको नेतृत्वमा पुगेर उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने लक्ष्यसहित चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दिएका छन् । आचार्य र गौतम प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् भने पोखरेल र बुद्धाचार्य एकल उम्मेदवारका रूपमा मैदानमा छन् ।
निर्वाचनको माहौल तातिरहेका बेला पोखराको सिटीवान टेलिभिजनले बुधबार ‘चार दाबेदार, एउटै प्रश्न’ शीर्षकमा बहस कार्यक्रम आयोजना गरेको छ । टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठको सहजिकरणमा भएको कार्यक्रममा अध्यक्षका तीन प्रत्यासीहरु पोखरेल, आचार्य र बुद्दाचार्य सहभागी भएका थिए । कार्यक्रममा उनीहरूले आफ्नो उम्मेदवारीको औचित्य, संघको आगामी भूमिका र व्यवसायीका समस्यासम्बन्धी आफ्ना योजना सार्वजनिक गरे ।
पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा पोखराका उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रममा पोखरा र यहाँका व्यवसायीको हितमा पोखरा उद्योग वाणिज्य संघले विगतमा खेलेको भूमिका तथा आगामी दिनमा खेल्नुपर्ने भूमिकामाथि समेत छलफल भएको थियो ।
अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई ‘ग्रेटर पोखरा’को अवधारणाअनुसार अझ व्यापक र समावेशी संस्थाका रूपमा विकास गर्नुपर्ने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न राज्यका सम्बन्धित निकायसँग निरन्तर व्यावसायिक संवाद र दबाब कायम राख्ने उनको प्रतिबद्धता छ । उनले साना, मझौला र ठूला सबै तहका उद्योगी–व्यवसायीलाई समेटेर संघलाई साझा घरका रूपमा विकास गर्ने बताए ।व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत अड्चन हटाउन संघका तर्फबाट सशक्त पैरवी गर्ने उनको योजना छ । विदेश पलायन भइरहेको युवा जनशक्तिलाई पोखरामै रोक्दै उद्यमशीलतामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघ विधानअनुसार सञ्चालन हुनुपर्ने विषयमा आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै पोखरेलले यस विषयमा आफू अडिग रहेको स्पष्ट पारे ।
अध्यक्षका प्रत्यासी उत्तममान बुद्धाचार्यले १७ बुँदे प्रतिबद्धतासहित आफू चुनावी मैदानमा आएको बताए । उनले व्यवसायीका लागि एकद्वार सहायता केन्द्र स्थापना, व्यावसायिक डाटा बैंक निर्माण तथा एआई र डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छन् । युवा तथा महिला उद्यमशीलता प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्ने योजना पनि उनले अघि सारे । पोखरा प्रमुख पर्यटकीय गन्तव्य भएकाले पर्यटन क्षेत्रमा थप सम्भावना खोज्नुपर्ने बताउँदै बुद्धाचार्यले खेल पर्यटनमा लगानी विस्तार गर्ने आफ्नो सोच रहेको सुनाए । “ग्रेटर पोखरा’को अवधारणामार्फत गाउँघरमा उत्पादन हुने वस्तुको बजार विस्तार र बजारीकरणमा सहयोग गर्ने योजना पनि उनले प्रस्तुत गरे ।
अध्यक्षका अर्का प्रत्यासी बलराम आचार्यले पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै पुरानो सामाजिक–व्यावसायिक संस्था भएकाले यसको गरिमा र साखलाई थप उचाइमा पुर्याउनु आफ्नो प्रमुख दायित्व हुने बताए ।संस्थालाई थप मजबुत बनाउँदै सम्पूर्ण व्यवसायीको हकहितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता उनले जनाए । पोखरामा करिब २० हजार व्यक्ति व्यवसायमा संलग्न रहे पनि संघको सदस्यता अपेक्षाकृत कम रहेको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै व्यवसायीलाई संघमा जोड्ने अभियान सञ्चालन गर्ने बताए ।युवा उद्यमीलाई उद्यमशीलतामा अघि बढ्न आवश्यक सहजीकरण गर्ने तथा अर्धवार्षिक रूपमा रोजगार मेला आयोजना गर्ने योजना पनि आफ्नो टिमले अघि सारेको उनले जानकारी दिए ।
अध्यक्षकी प्रत्यासी शोभा गौतम भने कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेको आयोजक सिटीवान टि भि का प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिइन् ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । महाधिवेशनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन् । नेतृत्वमा चार जना उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण यसपटकको निर्वाचनलाई व्यवसायीमाझ विशेष चासोका साथ हेरिएको छ । पदाधिकारी र सदस्यमा पनि तीव्र प्रतिष्पर्धा छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका…








