तीज मनाउने खर्च भोटेकोशी बाढी प्रभावितलाई, अम्बिका आमा समुहद्वारा १ लाख बढी सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेको छ ।

नारीहरुको साँस्कृतिक पर्व हरितालिका तीजमा खर्च गरिने रकम गत बुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकका लागि खर्च गरिएको समुहले जनाएको छ । संस्थाले टोलबाट संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष कृष्ण कुमारी खवासले जानकारी दिईन् । सो रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालमार्फत प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको हो । बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक, पीडा र संकटमा रहेका बेला तीजको नाममा अनावश्यक खर्च गर्नुको सट्टा पीडित परिवारको सहयोगमा हातेमालो गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको आमा समुहका अध्यक्ष खवासले बताइन ।

संकलित रकम ग्रहण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङले आमा समुहले गरेको यस्तो कार्य समाजका लागि थप अनुकरणीय हुने भन्दै समुहको प्रशंसा गरे ।सहायक प्रजिअ चित्राङ्गत बरालले पर्व मनाउने क्रममा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्न सक्ने बताए ।समुहको कार्यले सामाजिक संघ संस्थाको भुमिकालाई थप स्पष्ट पारेको भन्दै,वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले समुहको यस कार्यले असल सन्देश प्रवाह गरेको बताए । दुःखमा साथ, विपत्तिमा सहयोग र पर्वमा संयम भन्ने उद्धेश्यसहित सहयोग संकलन गरिएको सचिव बेलमाया राना मगरले बताईन् ।

समुहको यो कार्यले तीज पर्वलाई केवल रमाइलो, गरगहना, भोजभतेर र खर्चसँग मात्र जोड्नु नहुने सन्देश दिएको स्थानीयको भनाई छ । समाजमा विपत्ति आइपर्दा आफूले गर्ने सानो त्याग र सहयोगले पनि पीडितका लागि ठूलो अर्थ राख्न सक्ने उदाहरण समुहले प्रस्तुत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।