सन्तानेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा हालसम्म ८५ लाख रुपैयाँ संकलन


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित




पोखराको प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित महायज्ञमा बिहीबारसम्ममा करिब ८५ लाख रुपैयाँ संकलन भएको छ।

बुधबारदेखि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्ममा करिब ८५ लाख रुपैयाँ संकलन भएको प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए । प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार महायज्ञमा सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट मात्रै ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। यस्तै, मन्दिर व्यवस्थापन समिति अध्यक्ष पराजुलीसहित श्रीराम पराजुली, शम्भु पराजुली, पुरुषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट एकमुष्ट १० लाख छ हजार रुपैयाँ संकलन भएको छ। महायज्ञमै समाजसेवी हेरम्बप्रसाद कोइराला तथा परिवारजनबाट तीन लाख १५ हजार, भरतराज पौडेलबाट २५ हजार नौ सय ९९, सूर्यप्रसाद पराजुलीबाट २५ हजार पाँच सय २५ रुपैयाँ र गजेन्द्र जैशवालबाट २५ हजार एक सय एक रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। यसैगरी मन्दिर व्यवस्थापन समितिका कार्यसमिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको प्रचारप्रसार समिति संयोजक बरालले जानकारी दिए।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ताको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुरू गरिएको महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्।महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिने र केही रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको महायज्ञमार्फत मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ।

सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ। मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।