कुमुदिनी होम्समा मनाइयो, कृष्ण जन्माष्टमी पर्व


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित




पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविमा बिहिबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ ।

विद्यालयमा अध्ययनरत मन्टेश्वरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले भगवान श्रीकृष्णसँग सम्बन्धित भजनकीर्तन, नृत्य तथा झाँकी प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजनकीर्तन तथा सङ्गीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्‍याएका थिए । उनीहरूको गायन र वाद्यवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक पोशाक र सांस्कृतिक प्रस्तुतिले विद्यालय परिसर नै भक्तिमय र उत्सवमय बनेको थियो।सो अवसरमा बोल्दै कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक शिक्षासँगै बालबालिकालाई आफ्नै मौलिक धर्म, संस्कार र संस्कृतिको ज्ञान दिनु अति आवश्यक भइसकेको बताए ।

“हाम्रा भावी पुस्तालाई प्रविधि र विश्वस्तरीय शिक्षा दिँदादिँदै पनि आफ्ना जरा, परम्परा र मूल्य मान्यता बिर्सन दिनु हुँदैन,” अध्यक्ष पालिखेले भने, “विद्यार्थीहरूलाई सानै उमेरदेखि नेपाली संस्कार र संस्कृतिको व्यावहारिक जानकारी गराउनु तथा यसको संरक्षण र प्रवर्द्धनमा उनीहरूको रुचि जगाउनु नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य हो।”बालबालिकाहरूलाई भगवान श्रीकृष्णको जन्म, उहाँको बाललीला र जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्त्वका बारेमा समेत व्यावहारिक रूपमा जानकारी गराइएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन र सांस्कृतिक चेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

शिक्षक कुशुम गुरूङको संयोजनमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिका तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।