नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः चयन भएका छन् ।
संघको सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत स्पमा चयन गरेको हो । संघको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन भए। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी चयन भएको निर्वाचन समितिको संयोजक सुशीलकुमार वाग्लेले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले हेभी इक्युप्मेन्ट अपरेटरहरूले देश निर्माणमा महत्वपूर्ण योगदान गरे पनि उनीहरूको काम र योगदानको उचित कदर हुन नसकेको बताए । “यो जनशक्तिले ठूलो जोखिम मोलेर सुरुङ र हाइड्रोपावरजस्ता क्षेत्रमा काम गर्दै आएको छ। देश निर्माणका यी जनशक्तिलाई राज्यले उचित रूपमा उपयोग गर्न सकेको छैन। तपाईँहरूलाई राज्यले सम्मान गर्नुपर्छ । ” सांसद बरालले भने । जिल्ला दररेटअनुसार अपरेटरहरूको पारिश्रमिक अत्यन्त कम रहेको उल्लेख गर्दै उनले पारिश्रमिकको पुनरावलोकन तथा समयसापेक्ष वृद्धि गर्न सरकार र सदनमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल हेभी इक्युप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले अपरेटरहरूले अग्ला पहाडसँग सिँगौरी खेल्दै देश निर्माणमा योगदान पु¥याइरहेको बताए । उनले अपरेटरहरूको कम्तीमा रु ३० लाखको बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि सरकारसँग माग राखेर आफूहरू संघर्षरत रहेको पनि सुनाए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले व्यक्तिको जीवनभन्दा ठूलो कुनै काम नहुने बताउँदै जोखिमपूर्ण र अप्ठ्यारो भूगोलमा काम गर्ने अपरेटरहरूले सुरक्षाका सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक स्रोतको दोहन तथा ट्राफिक नियम उल्लङ्घनबाहेक अन्य विषयमा अपरेटरलाई अनावश्यक रूपमा कारबाही नगरिने पनि उल्लेख गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार सुशीलकुमार वाग्ले,संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रेमबहादुर थापा,कास्की हेभी इक्युप्मेन्ट व्यवसायी संघका सचिव भीम केसी, एमएमडब्लु पोखरा कार्यालयका प्रमुख कृष्णप्रसाद तिवारी, संघका संस्थापक कोषाध्यक्ष उमनाथ आचार्य, म्याग्दी अपरेटर संघका सचिव मानबहादुर, संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सुवेदी लगायतले पेशालाई मर्यादित र सम्मानित बनाउन नसके आगामी पाँचदेखि सात वर्षभित्र हेभी उपकरण तथा सवारीसाधन चलाउने दक्ष अपरेटरको अभाव हुने बताए ।
सोही अवसरमा संघले प्रकाशन गरेको ‘एक दशक स्मारिका’ समेत विमोचन गरिएको थियो। कार्यक्रममा संघलाई सहयोग गर्ने सहयोगदाता, अग्रज अपरेटर, पूर्वअध्यक्ष तथा एसईई र कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका अपरेटरका छोराछोरीलाई समेत सम्मान गरिएको थियो । संघका अध्यक्ष किशोर प्रसाद गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ ।…





