माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
चलचित्रले पोखराबाट मात्रै ५१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सनसमेत जोड्दा पोखराको कुल ग्रस कलेक्सन ५५ देखि ६० लाख रुपैयाँसम्म पुगेको अनुमान गरिएको छ ।चलचित्रले दोस्रो सातामा समेत दर्शकको उत्साहजनक साथ पाइरहेको छ । माउथ पब्लिसिटीका कारण दर्शकको उपस्थिति बढ्दै गएको निर्माण पक्षको भनाइ छ । दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न ठाउँका हलमा हाउसफुल शो भइरहेका छन् । टिकट नपाएर दर्शक फर्किनुपर्ने अवस्था समेत देखिएको छ ।
पोखरा ट्रेडमलमा रहेको क्यूएफएक्स सिनेमाजमा पहिलो सातामा १० हजार ६ सय ७० जनाले ‘पेन्सन पट्टा’ हेरेका छन् । उक्त हलबाट बिहीबारसम्म ३३ लाख १८ हजार रुपैयाँ ग्रस कलेक्सन भएको क्यूएफएक्स पोखराका म्यानेजर पशुपति कार्कीले जानकारी दिए ।यस्तै, पोखराको मिडटाउन सिनेमाजमा ६ हजार ३ सय ७० दर्शकले चलचित्र हेरेका छन् । मिडटाउनबाट १८ लाख ३० हजार रुपैयाँ ग्रस कलेक्सन भएको म्यानेजर संकेत द्वाले जानकारी दिए ।क्यूएफएक्स र मिडटाउनको कलेक्सन जोड्दा मात्रै ५१ लाख ४८ हजार रुपैयाँ पुग्छ । श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन भने प्राप्त हुन बाँकी छ । उक्त हलको रकमसमेत जोड्दा पोखराबाट चलचित्रले ५५ देखि ६० लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको अनुमान गरिएको हो ।
‘पेन्सन पट्टा’को प्रचारमा सामाजिक सञ्जालको प्रभावसमेत देखिएको छ । टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा चलचित्रका दृश्य, प्रतिक्रिया तथा प्रचार सामग्री भाइरल भइरहेका छन् । यसले दर्शकलाई हलसम्म आकर्षित गर्न मद्दत गरेको निर्माण पक्षको बुझाइ छ ।चलचित्र हेरेका दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण माउथ पब्लिसिटी बढ्दै गएको छ । परिवार, समाज, प्रेम, त्याग र जीवनसँग जोडिएका विषयवस्तु प्रस्तुत गरिएको चलचित्रले दर्शकको ध्यान तानेको बताइएको छ ।शुक्रबारबाट प्रदर्शनमा आएका ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’सँगै ‘पेन्सन पट्टा’ले दोस्रो साताको यात्रा सुरु गरेको छ । नयाँ चलचित्र प्रदर्शनमा आए पनि पोखराका हलमा ‘पेन्सन पट्टा’को दर्शक उपस्थिति बलियो देखिएको छ ।
पोखराको मिडटाउन सिनेमाज र क्यूएफएक्समा शुक्रबार नयाँ चलचित्रको तुलनामा ‘पेन्सन पट्टा’का शोमा दर्शकको उपस्थिति राम्रो भएपछि शनिबारबाट ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’का शो घटाइएको जनाइएको छ । अधिकांश शो ‘पेन्सन पट्टा’ले पाएको छ ।‘पेन्सन पट्टा’ले पोखराबाहेक बुटवल, चितवन, झापा, इटहरी, लमजुङ, तनहुँको दमौली लगायतका सहरमा समेत राम्रो दर्शक उपस्थिति पाइरहेको छ । पछिल्लो समय काठमाडौंमा पनि चलचित्रप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ ।
स्थानीय परिवेश, सामाजिक यथार्थ र पारिवारिक सम्बन्धका विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले प्रदर्शनको पहिलो सातामा प्राप्त गरेको व्यापारसँगै दोस्रो सातामा पनि दर्शकको साथलाई निरन्तरता दिएको छ ।चलचित्र ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन्…






