कास्की–२ कांग्रेसको निर्वाचन रद्द गरी पुनः मतदान गर्न माग


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




पोखरा, १६ असोज — नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न माग गरिएको छ। क्षेत्रीय सभापतिका उम्मेदवार सुभाष सिग्देल, प्रदेशसभा क्षेत्र नम्बर २ (क) का उम्मेदवार अर्जुन पोखरेल र (ख) का उम्मेदवार दीपेन्द्र मर्सानीले निर्वाचन अधिकृतसमक्ष निवेदन दिँदै पुनः निर्वाचनको माग गरेका हुन्।
असोज १२ र १३ गते भएको निर्वाचनमा ३२ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको र मतपत्रमा नम्बरसमेत उल्लेख नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। हस्ताक्षर र नम्बर नभएका मतपत्रसमेत मतदानमा प्रयोग गरी मतगणना गरिएको भन्दै उनीहरूले निर्वाचन प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गरेका छन्।
उनीहरूले त्यस्ता मतपत्रको मतसमेत गणना गरी परिणाम घोषणा गरिएको भन्दै निर्वाचन रद्द गरेर पुनः मतदान गराउन माग गरेका छन्। निर्वाचन अधिकृतलाई बुझाइएको निवेदनमा तीनै उम्मेदवारले हस्ताक्षर गरेका छन्।
कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भएको निर्वाचनमा नवीन बराल १ सय ४९ मतसहित निर्वाचित भएका थिए। सुभाष सिग्देलले १ सय ४२, देवराज आचार्यले १ सय ३१ र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरेका थिए। कुल ५ सय ५४ प्रतिनिधिमध्ये ५ सय ४० मत खसेको थियो।
प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा भोजराज आचार्य १ सय ३२ मतसहित निर्वाचित हुँदा अर्जुन पोखरेलले १ सय २३ मत प्राप्त गरेका थिए। २ (ख) मा अमृत शर्मा तिमिल्सिना १ सय ४८ मतसहित निर्वाचित हुँदा दीपेन्द्र मर्सानीले १ सय मत र सुवर्ण केसीले ३३ मत प्राप्त गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।