पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव : ‘दशैं’ मनाउन पाउँदा पर्यटक मख्ख


     एभरेस्ट आवाज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक ८

पर्यटन भनेको नेचर, कल्चर र एडभेञ्चर अर्थात प्रकृति, संस्कृति र साहसिक गतिविधिको संगम हो । जुन पोखरामा प्रचुर छ । त्यसैले त पोखरा पर्यटनको राजधानी बनेको हो । प्राकृतिक रुपमा पोखरा यति सुन्दर छ कि, त्यसैले त मान्छेहरु पोखरालाई स्वर्गसँग तुलना गर्छन् । हिमाल, ताल र प्राकृतिक छटाले भरिएको पोखरा साँच्चिकै सुन्दर गन्तव्य बनेको छ ।

त्यस्तै, एडभेञ्चर गतिविधिका लागि पनि पोखरा विश्वकै सुन्दर गन्तव्य मानिन्छ । तालको माथि हिमाल हेरेर हावामा कावा खाँदै प्याराग्लाईडिङ गर्न पाउँदा जोकोहि पर्यटक मन्त्र मुग्ध हुन्छन् । त्यसबाहेक हिमालसम्मै पुगेर मज्जा लिन पाईने अल्ट्रालाईट, गहिरो नदीमा अग्लो ठाउँबाट हामफाल्ने बञ्जीजम्प, सराङकोटबाट दुई तीन मिनेटमै याम्दीसम्म झर्ने जिपलाईनदेखि स्काई डाईभिङसम्म यहाँ अनुभव लिन सकिन्छ । यसैगरी, झरनामा डोरीको सहायताले झर्ने क्यानोईङदेखि ¥याफ्टिङ र कायाकिङसम्मको अनुभव लिने गन्तव्य पनि पोखरा नै हो ।

पर्यटनको अर्को महत्वपूर्ण पाटो भनेको संस्कृति हो । न्यानो आतिथ्यतादेखि हामीले मान्ने चाँडपर्व पनि पर्यटकको आकर्षण बन्दै आएको छ । जसलाई पोखरेली पर्यटकले प्रोडक्टको रुपमा ब्राण्डिङ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कहिले भाईटीका महोत्सव गरेर विदेशी पर्यटकलाई नेपाली चेलीबेटीले भाईटीका लगाई दिने त कहिले रोपाईं महोत्सव गरेर विदेशीलाई नेपाली रोपाईं संस्कृतिबारे बुझाउँदै हिलो खेलाउने गरिरहेको छ पोखरा । यहि सेरोफेरोमा महिला पर्यटन व्यवसायीहरुको छाता संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को आयोजनामा पर्यटकीय केन्द्र पोखराको लेकसाईडमा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरेर पर्यटकलाई आकर्षित गर्न थालेको छ । पहिलो पटक आईतबार लेकसाईडस्थित वाराही खेलमैदानमा आयोजित महोत्सवमा पर्यटकलाई टिका, जमरा लगाईदिएर दक्षिणा दिदा उनीहरु औधी खुशी भए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले टीका र जमरा लगाईदिदा पर्यटकहरु मख्ख थिए । उनीहरु नेपालीको मौलिक पर्व दशैं मनाउन पाउँदा अन्त्यन्त हर्षित भएको बताइरहेका थिए । कार्यक्रममा सहभागी आयरल्याण्डका नागरिक ईथाले थकानबीच दशैं मनाउँदा आफूले थकान नै बिर्सिएको बताईन् । भर्खरै ट्रेकिङ सकेर फर्किएकी उनले भनिन्,‘न्यानो आतिथ्यतासँगै टिका, जमरा लगाउँदा साह्रै खुशी भएँ, त्यसमाथि सेलरोटीसहितको दशैंका परिकार खान र पिङ खेल्न पाउँदा मनै फुरुङ्ग भयो ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दशैंलाई प्रोडक्टका रुपमा विकास गर्नुपर्ने बताए । हिमाल, ताल र प्राकृतिक छटाहरु त पोखराका सदाबहार गन्तव्यहरु हुन्,उनले भने,‘अब संस्कृति पनि पर्यटकको आकर्षण बन्नुपर्छ, दशैं, तिहारजस्ता अथाह संस्कृति पर्यटकका लागि नया आकर्षण र अनुभव हुनसक्छन् ।’ उनले दशैं महोत्सवलाई वार्षिक क्यालेण्डर बनाएर आयोजना गर्न सुझाव दिदै त्यसका लागि महानगरले सघाउने बताए ।

नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेलले पर्यटनलाई संस्कृतिसँग जोड्नु सकारात्मक भएको बताए । उनले भने,‘हाम्रोमा भएको मौलिक कला र संस्कृतिलाई उजागर गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ, त्यसका लागि सघाउन पर्यटन वोर्ड सदैव तपाईंहरुको पक्षमा छ ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले दशैं संस्कृति बुझाएर नजिकबाट अनुभव गराएर महत्व बुझाउन सके पर्यटक आकर्षित हुने बताए । सुरुवात हुनु सुखद कुरा हो,उनले भने,‘अब स्टोरी टेलिङको माध्यमबाट उनीहरुलाई दशैंको शुरुवात, किम्वदन्ती, यसको महत्व र खाने परिकारबारे बुझाउँदै राष्ट्रिय अन्तर्राष्ट्रि प्रचार गर्न सके अर्को वर्षदेखि पर्यटक यसैका लागि आउन थाल्छन् ।’

ओटेफकी अध्यक्ष ममता न्यौपानेले सांस्कृतिक पर्यटनको खोजी गर्दै प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको बताईन् । यो हाम्रो पहिलो प्रयास हो,उनले भनिन्,‘आगामी वर्षदेखि हामी यसलाई निरन्तर आयोजना गर्छौं ।’

ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले दशैंलाई पर्यटनसँग जोडेर पर्यटकको आगमन बृद्धि गर्ने र पोखरा आएका पर्यटकको बसाई लम्ब्याउन महोत्सवले सघाउने बताईन् । ‘पहिलो कार्यक्रममै बाक्लो पर्यटकको सहभागितालाले हामीलाई उत्साहित बनाएको छ’—उनले भनिन् ।

कार्यक्रममा मालश्रीको सुमधुर धुनमा सहभागी पर्यटक तथा दर्शक मन्त्रमुग्ध भएका थिए भने पञ्चेबाजामा छमछमी नाचेका थिए । कार्यक्रममा आयोजित मैत्रीपूर्ण कबडी खेलमा अतिथिदेखि पर्यटकसम्म रमाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।