सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २०
नेवारी कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा सातौँ स्वन्ती नखः महोत्सव आयोजना हुने भएको छ। नेवा मिसा पुचः कास्की र पोखरा महानगरपालिका–९ को विशेष सहयोग तथा चिप्लेढुंगास्थित नेवास् मिसा पुचःको आयोजनामा कात्तिक २१ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा महोत्सव हुन लागेको हो।
नेवारी समुदायको मौलिक पर्व, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष पनि विभिन्न सांस्कृतिक तथा परम्परागत गतिविधि समेटिएका छन्।
महोत्सवको मुख्य आकर्षण सयपत्री फूलको माला बुन्ने प्रतियोगिता रहनेछ। पछिल्लो समय चाडपर्वमा प्लास्टिक तथा आयातित मालाको प्रयोग बढ्दै गएको अवस्थामा स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्दै मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता राखिएको आयोजकले जनाएको छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। महोत्सवमा नेवारी समुदायको परम्परागत भाइटीका विधिसमेत प्रदर्शन गरिनेछ। नयाँ पुस्तालाई दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध, भाइटीकाको सांस्कृतिक महत्त्व र पूजाविधिबारे जानकारी दिने उद्देश्यले कार्यक्रम राखिएको नेवा मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिइन्।
त्यस्तै, महोत्सवमा नेवारी परिवारले तयार पारेका परम्परागत परिकारका स्टल रहनेछन्। स्टलमा योमरी, समयबजी, चटामरी, बारा र सेलरोटीलगायत मौलिक नेवारी परिकारको स्वाद लिन पाइनेछ। भाइटीकामा आवश्यक पर्ने सामग्रीका स्टलसमेत राखिने आयोजकले जनाएको छ।
महोत्सवमा विभिन्न कलाकारले सांस्कृतिक प्रस्तुति दिने कार्यक्रमसमेत छ। यस्ता गतिविधिले नेवारी समुदायको मौलिक पहिचान, कला, संस्कृति र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ। नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले महोत्सवले नेवार समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा समेत सबल बनाउन सहयोग पुग्ने बताए। नेवारी संस्कृति र परम्परासँग जोडिएका विभिन्न जात्रा लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनले नयाँ पुस्तामा सांस्कृतिक जागरण ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
पछिल्लो समय एउटा समुदायको संस्कृतिलाई अर्को समुदायले समेत अपनत्व लिने क्रम बढेको चर्चा गर्दै पालिखेले यसले सामाजिक एकता र सद्भाव अभिवृद्धिमा सहयोग पुगेको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३…







