बाल अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित




पोखराकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच उनलाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले उनलाई सो पुरस्कार प्रदान गरे। पुरस्कार छनोट समितिका संयोजक डा ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिस केन्द्रले अनुमोदन गरेको थियो ।कार्यक्रममा नगर प्रमुख आचार्यले आफ्नो इच्छा अनुसार काम गर्ने बालबालिका सिर्जनशील हुने बताए ।उनहिरुको रुचिलाई बुझेर अभिभावकले पनि वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । साहित्यकार सरुभक्तले केन्द्रले थालनी गरेको पुरस्कारले बालबालिकालाई प्रेरणा र हौसला दिने विश्वास व्यक्त गरे ।

पुरस्कार छनोट समिति संयोजक डा ईश्वरमणि अधिकारीले स्रष्टाको परिचय दिएका थिए।पुरस्कार ग्रहण गरेपछि सम्मानित व्यक्तित्व प्रेन्सा रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति नचाहिने बताइन्। केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्तीलगायतले बालप्रतिभा कला, साहित्य, संगीत र खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना, मानवीय सेवा र समाज रूपान्तरणमा पनि सक्रिय हुनु पर्नेमा जोड दिए । संस्थाका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले स्वागत गरेको कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए। प्रेन्सा अध्ययनरत गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्तीले प्रेन्साले विद्यालयमा पारेको प्रभावका बारेमा भनाइ राखे ।

विसं २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा नम्बर ११ फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्। यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।