पोखरा र मकवानपुरको भीमफेदीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ ।
भाईटीकाको राती र आज बिहान भएको दुर्घटनामा अन्य १८ जना घाईते भएको प्रहरीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका १० जना मध्ये चालकको मात्र पहिचान खुलेको छ ।इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट करिब ५०० मिटर तल झरेको थियो । अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।
त्यस्तै पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन् । त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन् ।
यसैगरी, सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ । प्रहरीले जिपका चालक पोखरा–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र…







