प्रधानमन्त्री शाहसँग रास्वपा सांसदको छलफल


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८३ मा प्रकाशित




प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भेट गरेका छन् ।

सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताए । उनले भने, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै छन् ।महामन्त्री विपिन आचार्यको नेतृत्वमा हुने भ्रमणमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी सहभागी हुनेछन्। यस्तै, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।