एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित




गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।

जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो । गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिए ।

उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ । “अक्टुबर(नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् ।

अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।