सन्देश श्रेष्ठ
पोखरा, मंसिर ११
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा आफ्नो पार्टीको परिणाम सुधारिने दाबी गरेका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानिय तहका निर्वाचनमा फागुन २१ को जस्तो परिणाम नदोहोरिने दाबी गरेका हुन् । भर्चुअल माध्यमबाट भएको प्रचारले जनतालाई नयाप्रति आशा जगाउँदा फागुन २१ को परिणाम आएको उनले बताए । तर अहिले जनता आफै जनमत रिभ्यू गर्ने सोंचमा रहेको दाबी गर्दै उनले भने,‘६–७ महिनाको यो बिचमा प्रत्यक्ष अनुभूति गर्न पाएपछि जनता आफै रिभ्यू गर्ने मनस्थितिमा पुगेका छन् । अबको स्थानिय तहको निर्वाचनमा विगतको जस्तो अवस्था रहँदैन । हामी त्यसलाई सुधार गर्न सक्दछौं ।’
महासचिव पोखरेलले सामाजिक सञ्जालमा देखिने सरकार व्यवहारमा भने नदेखिएको टिप्पणी गरे । सरकार सामाजिक सञ्जालमा मात्र देखिएको बताउँदै उनले भने,‘सञ्जालमा त देखिन्छ तर सरकारको कामकारवाही र व्यवहारमा देखिएको छैन ।’ सरकार चलाएको एक सय दिनमा जनताको जीवनमा आमूल परिवर्तन गर्ने घोषणा गरेको बालेन सरकारले अहिले ७ महिना बित्दासमेत माखो मार्न नसकेको उनले बताए ।
महासचिव पोखरेलले कांग्रेसकोजस्तो रुपान्तरण एमालेलाई नचाहिएको बताए । कांग्रेसमा प्रयोग भएको रुपान्तरणको विधिले समाधान पनि नदिएको र पार्टी एकताबद्ध पनि नगरेको बताउँदै उनले अगाडि भने,‘रुपान्तरण पनि हुने र एक ढिक्का पनि हुन एमालेले चाहेको छ । त्यसका लागि समय लिन सक्छ । त्यसलाई अन्यथा लिनु हुँदैन ।’ उनले एमालेमा पार्टी हस्तान्तरणको समस्या नभएको जिकीर गरे । बरु गत निर्वाचनमा ईतिहासमै नबेहोरेको पराजय बेहोर्नुपरेपछि त्यसको समीक्षा गरिएको बताउँदै त्यहि समीक्षामा गरिएको निर्णयका आधारमा पार्टी अगाडि बढिरहेको उनले बताए । उनले महासचिवले सञ्चालन गर्ने कार्यक्रम अध्यक्ष आफैले केहि समय गरे पनि पछिल्लो पटकको बैठकपछि वातावरण सहज भइसकेको दाबी गरे । अध्यक्षले मेरो राजिनामा माग्नुभयो भन्ने कुरा बजार हल्ला मात्र हुन्,उनले भने,‘राजिनामा माग्नु भएको मलाई त थाहा छैन, खै कसरी हो हल्ला चलेको ।’
महासचिव पोखरेलले आगामी निर्वाचनमा बिचार मिल्नेसँग चुनावी तालमेल हुनसक्ने बताए । अघिल्ला चुनावहरुमा पनि स्थानिय आवश्यक्ताका आधारमा चुनावी तालमेल गर्ने नीति एमालेले लिएको र आगामी निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिईने उनको भनाई थियो । संविधान र लोकतन्त्रको रक्षाको प्रश्नमा संविधानका पक्षधर शक्तिसँग मिलेर काम गर्ने पक्षमा एमाले रहेको छ,उनले थपे,‘चुनावको सन्दर्भमाचाहिं बिचार मिल्नेहरुसँग तालमेल गर्न सकिन्छ भन्ने पक्षमा छौं ।’ यद्वपी को सँग र कसरी मिल्ने भन्ने विषयमा भने छलफल भइनसकेको उनले प्रष्ट्याए ।
महासचिव पोखरेलले बालेन सरकारले स्वेच्छाचारी शासन गर्न खोजेको आरोप लगाए । कर्मचारी प्रशासनलाई त्रस्त बनाउदेखि प्रहरी संरचना भत्काउने र न्यायाधीसहरुलाई नै नियन्त्रण गर्नेसम्मका कार्य भइरहेको उनको दाबी छ । ईनम प्रकरणले न्यायाधीसलाई कन्ट्रोभर्सीमा पार्ने षडयन्त्रलाई उदांगो पारेको बताउँदै उनले भने,‘कार्यकारीले सबै अंगलाई नियन्त्रणमा राखेर स्वेच्छाचारी शासन गर्न खोज्ने हर्कतका रुपमा इनम सापकोटा प्रकरणलाई हेर्नुपर्छ । ईनम प्रधानमन्त्रीका मान्छे थिए । प्रधानमन्त्रीका मान्छेले षडयन्त्रमूलक तरिकाले ट्रयापमा पारेर न्यायाधीसहरुलाई नियन्त्रण गर्ने योजनासहित गरिएको हो । यो शक्ति पृथकीकरणको सिद्धान्त विपरित छ भन्ने बुझ्नु पर्छ । अदालतलाई ईनम सापकोटाको नाममा कन्ट्रोभर्सीमा पार्दिने प्रयास हो यो ।’
महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका दृष्टिले उपलब्धिविहीन बनेको टिप्पणी गरे । आफू मेयरहुँदा काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो, उनले भने,‘तर भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवादबारे एकशब्द पनि उच्चारण गर्नुभएन । यसले हामी सबैलाई लज्जित बनाएको छ ।’ उनले नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि गठन गरिएको प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयसमेत नउठाउनु गलत भएको टिप्पणी गरे ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







