राष्ट्रपति बनेको भोलीपल्टै इद्रिस डिबेको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित




अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डिबेको गोली हानी मृत्यु भएको छ।

इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै पुगेका उनको विद्रोहीका गोली लागेर ज्यान गएको हो।

विद्रोहीको गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

विद्रोहीसँगको लडाइँमा सेनालाई साथ दिन राष्ट्रपति डिबे हिजो राजधानी एन जामेनाको सयौं किलोमिटर उत्तरमा फ्रन्ट लाइनमा गएका थिए।

आफूलाई फ्याक्ट–चाडमा परिवर्तन र समन्वयको लागि मोर्चा भन्ने समूहका विद्रोहीहरूसँग लडाइँ गर्न उनी त्यहाँ पुगेका बिबिसीले जनाएको छ। राष्ट्रपति डिबेले युद्धको मैदानमा सार्वभौम राष्ट्रको रक्षा गर्ने अन्तिम श्वास लिएका सेनाका प्रवक्ता जनरल अजेम बर्मान्डोआ अगौनाले बताए।

६८ वर्षीय राष्ट्रपति डेबीको मृत्युपछि सरकार र संसद् विघटन गरिएको छ। सीमा बन्द गरी कफ्र्यु लगाइएको छ। चाडको नेतृत्व अब सैनिक परिषदले गर्ने उल्लेख छ। सैनिक परिषदको नेतृत्व राष्ट्रपति डेबीका ३७ वर्षीय छोरा महमट इड्रिस डेबी इट्नोले गर्नेछन्।

उनको मृत्यु राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट भएको हो। चाडमा ३० वर्ष लामो शासन चलाएका उनी सन् १९९० मा राष्ट्रपति बनेका थिए। उनी अफ्रिकी मुलकमा सबभन्दा धेरै समयसम्म शासन गर्ने शासक हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।