भारतको अवस्थाप्रति डब्लुएचओका चिन्ता


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित




भारतमा लगातार दैनिक ३ लाखभन्दा बढी संक्रमित बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का संगठन प्रमुख डा. टेड्रोस गेब्रेयेससले चिन्ता जनाएका छन्।

डब्लुएचओका संगठन प्रमुख गेब्रेयेससले स्थिति नियन्त्रणमा ल्याउन भारतमा रहेका २६ सय कोरोना एक्सपर्टलाई तत्कालै काममा लगाउने कार्य भइरहेको जानकारी दिएका छन्।

‘भारतको अवस्था डरलाग्दो छ, यसले हामीलाई समेत भयभीत बनाएको छ,’ डा. गेब्रेयेससले भनेका छन्, ‘भारतमा रहेका हाम्रा कोरोना एक्सपर्टलाई काममा लगाउने प्रक्रिया अगाडि बढाइएको छ ।’
भारतलाई डब्लुएचओबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन्। ‘भारतलाई हामी सक्दो सहयोग गर्छौ,’ डा. गेब्रेयेससले भने ।

यसैगरी, संयुक्त राष्ट्रसंघले स्वास्थ्य आपत्काल भनी भारतका अस्पतालमा अक्सिजनको आपूर्ति व्यवस्था गर्ने भएको छ।

‘तत्काल अस्पतालको आवश्यकता अक्सिजन नै हो, यसको समाधानका निम्ति हाम्रो सहकार्य हुनेछ,’ संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो डेढ सातादेखि भारतमा कोरोना संक्रमित तथा मृतक संख्या बढ्दो छ । एक सातायता विश्वभरिको दैनिक संक्रमित संख्या विश्लेषण गर्दा भारतले मात्र ४८ प्रतिशत हिस्सा ओगटेको छ। कोरोना नियन्त्रण गर्नकै लागि नयाँदिल्लीलगायत अन्य विभिन्न सहरमा लकडाउन घोषणा भइरहेको छ। अस्पतालमा कोरोना संक्रमित तथा घाटमा पार्थिव शरीर भरिएका छन्। डब्लुएचओले यसलाई ‘हृदयविदारक’ भनेको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको भारतीय एजेन्सीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले भारतमा कोभिड–१९ महामारीविरुद्ध आफूहरूको सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

‘जब अमेरिका कोभिड–१९ को महमारीविरुद्ध लडिरहेको थियो, त्यसवेला भारतले निकै ठूलो सहयोग गरेको थियो,’ बाइडेनले भने, ‘अब सहयोग गर्ने पालो अमेरिकाको हो ।’

अमेरिकाले सहयोग गर्ने भएपछि प्रधानमन्त्री मोदीले सोसियल मिडियामार्फत राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।