ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाख नजिक


     रासस–सिन्ह्वा    
     वैशाख १६ गते २०७८ मा प्रकाशित




ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट तीन हजार १६५ नागरिकको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाख नजिक पुगेको छ । प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ ।त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।