भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित




तस्बीर : गुगलबाट

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५ सय १० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन्।

भारतमा हिँजो (मंगलबार) कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ। मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७ सय ९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ। यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख ३१ हजार ८ सय ९५ जनाको ज्यान गएको छ।

भारतमा हाल कोभिड–१९ का १८ लाख ९५ हजार ५ सय २० व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा सक्रिय संक्रमित २० लाख भन्दा कम भएको ४३ दिन यताको पहिलो पटक हो। भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो। विगत २४ घण्टामा २ लाख ५५ हजार २ सय ८७ ब्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका जनाएको छ।

भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २ सय ५७ व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ। भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान सुरु गरिएको थियो। मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६ सय ३८ डोज खोप लगाइएको छ।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।