बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।

उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा ३ हजार ३ सय ८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेको बताएका हुन्।

तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्।

उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, ‘हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ। तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ।’

यसैकारण बेलायतमा कोभिडको तेस्रो लहरको सुरुवात हुन सक्ने अवस्था रहेको उनले बताएका छन् । उनले बीबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए, ‘हुन त अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरैजस्तो लाग्छ।

तर, पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन्। सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ।’

बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको कोभिड–१९ को बृटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।