तस्बीरः एन्फा
विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आज (बिहीबार)देखि सुरु हुँदैछन्।
कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिता आजदेखि सुरु हुने भएका हुन्।
नेपालले आफ्नो पहिलो खेल चाइनिज ताइपेईसँग न्यूट्रल भेन्यु कुवेतमा खेल्दैछ। नेपालको पहिलो खेल चाइनिज ताइपेईसँग परेको हो। कुवेतको जाबेर अफ एहमद अन्तराष्ट्रिय स्टेडियमममा हुने नेपाल र चाइनिज ताइपेइबिचको खेल नेपाली समयअनुसार आज राति ९ः ४५ बजेबाट शुरु हुनेछ।
नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।
विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय संभावना मात्र जीवित छ। बाँकी छनोट खेलबाट नेपालको एसिया कप छनोटको सम्भावना बाँकी रहनेछ। त्यसका लागि बाँकी ३ खेलमा आउने नतिजामा भर पर्दछ।
नेपाल र चाइनिज ताइपेई एकअर्काबिरुद्ध अहिलेसम्म २ पटक आमने–सामने भएकोमा पहिलो खेल बराबरी भएको थियो भने दोश्रो पटक नेपालले खेल २–० ले जितेको थियो।
समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेको छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १०/१० अंक छ। नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकविहीन छ।
चाइनिज ताइपेइबिरुद्ध जित निकाल्नेछौ–प्रशिक्षक अल्मुताइरी
खेल सुरु हुन एक दिन अघि बुधबार भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाइनिज ताइपेइबिरुद्ध जितको लागि खेल्ने बताएका छन्।
उनले विश्वकपमा छनौटको बाटो बन्द भएपनि एशियन कपको छनौटमा पुग्ने लक्ष्य रहको जिकिर गरेका छन्।
‘कुवेतको मौसमका कारण फुटबल खेल्न दुबै टिमलाई कठिन हुनेछ,’ अब्दु्ल्लाहले भनेका छन्, ‘हामी कम्तिमा चौथो स्थानमा रहँदै एशियन कपको छनौटसम्म पुग्न चाहन्छौ । र, यसको निम्ति चाइनिज ताइपेइबिरुद्धको खेलमा जितको लागि खेल्नुपर्छ।’
उनले विश्वकप छनौट जस्तो महत्वपूर्ण प्रतियोगिताअघि धेरै मैत्री खेलहरु खेल्न नपाएकोले तयारी केही बाँकी रहेको बताए। उनले अहिलेको नेपाली टोलीमा युवा तर प्रतिभावान खेलाडी रहेको बताउँदै उनीहरुमाथि कुनै प्रकारको दबाब सिर्जना गर्न नहुने समेत जिकिर गरेका छन्।
‘हामीले धेरै मैत्री खेलहरु खेलेका छैनौ। हामीसँग युवा तर प्रतिभावान खेलाडी छन्। यी युवाहरुमाथि दबाब सिर्जना गर्न हुन्न’,अब्दुल्लाहले प्रतिक्रिया दिएका छन्।
उनले चाइनिज ताइपेईको टोलीमा नयाँ खेलाडीसँगै नयाँ प्रशिक्षक रहेकोले उक्त खेलमा नेपाली टोली हावी बन्न सक्ने बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







