म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः रासस/एएनआइ

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ (जी–७) को सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन्।

बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउनमा माग गर्दै सम्मेलनस्थल नजिक प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ ।

बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए। प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यानमारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए।

प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, ‘म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनस्र्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी–७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौँ।’

प्रदर्शनमा सहभागीहरू आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए। म्यानमारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागु भएको छ। सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ। त्यतिबेलाको निर्वाचन निष्पक्ष नभएकाले अब निष्पक्ष निर्वाचन गराउने सेनाको दावी छ। त्यसका लागि एक बर्षे संकटकाल समेत घोषणा गरिएको छ।

सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८ सय ४० भन्दा बढीको मृत्यु पनि भएको छ।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।