होटल, रेष्टुरेण्ट खोल्न दिन पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवानको माग

- कोरोना खोपपनि चाहियो


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




पर्यटनसँग सम्बद्ध पोखराका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेष्टुरेण्ट एण्ड बार एशोसियसन (सिटी रेवान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै कोरोना खोपको माग गरेका हुन् । कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्टहरु थला परेकाले यसको पुर्नरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरुको भनाई छ । ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय सञ्चालन गर्ने एउटै उपाय भनेको कोरोना खोप हो, यो बिना व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन, त्यसैले हामीलाई प्राथमिकतामा राखेर खोपको ब्यबस्था गरियोस’–ज्ञापन पत्रमा भनिएको छ ।

पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवान पोखराले सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गरेर व्यवसाय सञ्चालन गर्न दिनपनि माग गरेको छ । उनीहरुले असार २५ गते सम्ममा कर चुक्ता गर्न दिएको समयसीमा एकदमै न्यून भएको भन्दै त्यसलाई ३ महिना लम्ब्याउन आग्रह गरेका छन् । त्यस्तै, सरकारी भवनहरुमा सरकारले भाडामा पचास प्रतिशत छुट दिएकाले नीजि क्षेत्रसँग सम्बद्ध व्यवसायीहरुलाईपनि सोहि बमोजिम छुट गर्न गराउन समन्वय गर्न आग्रह गरेका छन् ।

संस्थाहरुले बैंकको कर्जा भुक्तानीको समयावधी थप थप गर्न तथा व्यवसायीहरुले तिर्ने घरबहाल कर छुट गर्न र बैंकको ब्याज तथा अन्य करहरुमा समेत सहुलियत प्रदान गर्न माग गरेका छन् । उनीहरुले विद्युत महशुल डिमान्ड शुल्कमा दिइएको छुट सकारात्मक भएपनि घरबेटीकै मिटर बक्सबाट विद्युत उपभोग गर्ने व्यवसायीले छुट नपाएकाले त्यस्ताको पहिचान गरि छुट दिनुका साथै पानीको महशुष कम्तिमा १ वर्षसम्मको र टेलिफोन र इन्टरनेटलगायतका महशुलमासमेत विशेष सहुलियत व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संस्थाहरुले घर भाडा बृद्धि २ वर्ष पछि मात्र गर्ने व्यवस्था मिलाउन, व्यवसायीहरुले लिएको बैंक कर्जाको ब्याज र किस्ता तिर्ने समयअवधी यसअघी तोकिएको भन्दा २ वर्ष बढाउन र ब्याजमा सहुलियत प्रदान गर्न, लकडाउन र निषेधाज्ञाको समयमा तिर्नुपर्ने बैंक ब्याज सावाँमा गाभेर पछि तिर्ने व्यवस्था मिलाउन, जीवन रक्षा कोषमार्फत कर्जा लिँदा व्यवसायको प्रोपर्टी देखाएर लोन लिन पाउने व्यवस्था गर्न माग गरेका छन् ।

व्यवसायीहरुले सरकारले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिने घोषणा गरेकाले त्यसलाई यथाशिघ्र लागु गर्न आग्रह गरेका छन् । उनीहरुले राज्यले जहिलेपनि पोखराको फेवा लेकसाइडलाई मात्रै प्राथमिकतामा राखेकोप्रति असन्तुष्टी जनाउँदै आगामी कार्यक्रम तथा निर्णयहरुमा पोखराका पर्यटनसँग सम्बद्ध सबै व्यवसाय संघ–संस्थाहरुलाई समावेश गराउन माग गरेका छन् ।

दुई संस्थाको प्रतिनिधित्व गरेर गएका पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डे र सिटी रेवान पोखराका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले यथाशीघ्र खोपको ब्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए । तर खोप ल्याउने अधिकार प्रदेशमा नभई संघ सरकारमा भएकाले खोप ल्याउन कठीन भएको उनको भनाई थियो । यद्वपी संघ सरकारले बाधा अवरोध फुकुवा गरिदिए प्रदेश आफैले खोप ल्याउन सकिने भन्दै खोप दिनका लागि केहि देशहरु तयारसमेत भएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।