गण्डकी प्रदेशका उत्कृष्ट १० पशुपन्छी पालक कृषक पुरस्कृत


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पशुपन्छी पालक कृषक तथा उत्कृष्ट कृतिम गर्भाधानकर्ता घोषणा गर्दै पुरस्कृत गरेको छ । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले प्रदेशभरका पशुपन्छी पालक कृषकहरु मध्ये १० उत्कृष्ट कृषक र प्रदेशका ९ जिल्लामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने उत्कृष्ट कृतिम गर्भाधानकर्ता घोषणा गरि जनही २० हजारसहित ताम्रपत्रले सम्मान गरेको हो ।

प्रदेशले विभिन्न १० विधामा उत्कृष्ट ठहरिएका कृषकहरुलाई नगदसहित पुरस्कृत गरेको छ । जस अन्तर्गत बागलुङको श्रीकृष्ण गाईभैंसी फर्मका सञ्चालक कृष्णप्रसाद पौडेल गाई÷भैंसी पालनतर्फ उत्कृष्ट कृषक घोषित भएका छन् । त्यस्तै, चौरी पालनतर्फ एस.चौरी पालन उद्योग मनाङका सुरेश थकाली, बाख्रा पालनतर्फ कास्कीको नया गाउँ बाख्रा फर्मका सञ्चालक दुर्गादत्त पौडेल, भेंडा तथा चौरी पालनतर्फ द बुकी भेंडा पालन व्यवसायका सञ्चालक बिनोदप्रसाद तुलाचन उत्कृष्ट कृषक घोषित भएका छन् ।

यसैगरी, बंगुर पालनतर्फ कास्कीको पोखरामा सञ्चालित नेपाल लाइभस्टक एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालिका सरस्वती बस्ताकोटी, मासुका लागि कुखुरा पालनतर्फ तनहुँको छिम्केश्वरी पोल्ट्री फर्मका सञ्चालक रामबहादुर रसाइली, अण्डाका लागि कुखुरा पालनतर्फ कास्कीको वाराही पोल्ट्री फर्मका सञ्चालक राजु थापा, ट्राउट माछापालनतर्फ कास्कीको माछापुच्छ«े ट्राउट फर्मकी सञ्चालिका सीता गुरुङ, कार्प माछा पालनतर्फ तनहुँको धौलागिरी कृषि तथा पशु फर्मका सञ्चालक सुदीपकृष्ण श्रेष्ठ र घाँसखेती कृषकतर्फ श्रीकालिका कृषि प्रालिका सञ्चालक कृष्णप्रसाद धिताल उत्कृष्ट कृषक घोषित भएका छन् ।

प्रदेशले कास्कीका कीमलाल रानाभाट, स्याङ्जाका हिरामणी ढकाल, पर्वतका नारायणप्रसाद आचार्य, बागलुङका कृष्णप्रसाद पौडेल, तनहुँका बिनोद बानिया, लमजुङका अमृत अधिकारी, गोरखाका सुदीप विक र नवलपरासीका नागेन्द्र शाहलाई उत्कृष्ट कृतिम गर्भाधानकर्ता घोषणा गर्दै पुरस्कृत गरेको छ । उत्कृष्ट कृतिम गर्भाधानकर्ता मध्ये नागेन्द्र शाहलाई सर्वोत्कृष्ट गर्भाधानकर्ता घोषणा गरिएको छ ।

प्रदेशले उत्कृष्ट कृषक तथा उत्कृष्ट कृतिम गर्भाधानकर्तालाई जनही २०÷२० हजारसहित ताम्रपत्रले पुरस्कृत गरेको छ भने सर्वोत्कृष्ट कृतिम गर्भाधानकर्तालाई नगद ३० हजार र ताम्रपत्रले पुरस्कृत गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक मनबहादुर पुनले जानकारी दिए ।

पुरस्कृतहरुलाई गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव सवनम शर्मा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक मनबहादुर पुन, कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासु रेग्मीलगायतले पुरस्कृत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।