अनावश्यक दुःख नदिन र खोप दिन अधिकृत विक्रेता संघको माग


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित




पोखरा । अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

संघले प्रदेशका पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून,संचार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

अध्यक्ष मनोजकुमार श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग हुने गाडीहरुमा थपिएको छानोको कारण देखाउँदै ट्राफिक प्रहरीले गाडी रोक्ने तथा जरिवाना लगाउने काम तत्काल रोक्न माग गरिएको छ । पोखराको मौषमका कारण गाडीमा छानो नराख्दा सामानहरु बिग्रने भएकोल छाना राख्नु बाध्यता भएको ज्ञापनपत्रमा जिकिर गरिएको छ ।

मन्त्री थापालाई बुझाइएको ज्ञापनपत्रमा चाहिँ किराना पसलहरुमा अत्यावश्यक सामान ढुवानी गर्ने अधिकृत व्यवसायी तथा कर्मचारीहरु कोभिड १९ को उच्च जोखिममा रहेकाले खोपको माग गरिएको हो । प्रतिनिधिमण्डलमा अधिकृत विक्रेता संघका केन्द्रीय महासचिव हरिराज पन्त, कास्कीका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, उपाध्यक्ष होमकुमार राई,उपमहासचिव रविकुमार सापकोटा, कोषाध्यक्ष तेजेन्द्र पौडेल,सचिवालय सदस्य दिलिपकुमार श्रेष्ठ,कार्यसमिति सदस्य ज्ञानेन्द्र गौतमलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा कार्यकालको सफलताको कामना पनि व्यक्त गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।