नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेशमा रोक

- कोरियाली मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन। हालसम्म ३४.९ प्रतिशत पहिलो र १३.५ प्रतिशत कोरियालीले दोस्रो डोजको खोप लगाएका छन्।


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड संक्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिइएको छ।

पछिल्लो समय कोरियामा संक्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो। दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ।

कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ संक्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो। मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन।

दक्षिण कोरियाले हालसम्म ३४.९ प्रतिशत पहिलो र १३.५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ।आगामी सेक्टेम्बरको अन्त्यसम्म ७० प्रतिशत खोप लगाउने लक्ष्य पूरा हुने मन्त्रालयले बताएको छ।

नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बंगलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र ट्रिनिडाड र टोबागो छन्।

मन्त्रालयका अनुसार पहिलो सेमेस्टरका लागि ३३ हजार ८ सय २६ विदेशी विद्यार्थी कोरिया प्रवेश गरेका छन्। यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो। प्रवेश गरेकामध्ये हालसम्म २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।