फाइल तस्विर ।
पोखरा । पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट पोखरा महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ । पोखरा महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा महानगरपालिका वडा नम्बर १६ र २० को बिचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको हो ।
हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले अध्ययन समिति बनाएको थियो । वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन समितिको सिफारिसका आधारमा पस्मराङलाई उपयुक्त ठह¥याईएको हो । अध्ययन समितिको सिफारिसमा महानगरपालिकाको कार्यपालिका बैठकले ल्याण्डफिल साइट सार्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता तथा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।
ल्याण्डफिल साइट बनाउने भनिएको ठाउँ निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल भन्दा झण्डै १७ किलोमिटर टाढा पर्छ । वडा नम्बर १६ र २० को बिचमा पर्ने यो ठाउँ अर्मलाकोटबाट दक्षिणतर्फ देखिने ठूलो भीर हो । जसको वरीपरी डाँडा र बिचमा समथर खोंच छ । मानव बस्ती नभएको ठाउँ भएकालेपनि ल्याण्डफिल साइटका लागि उपयुक्त ठहर गरिएको महानगरपालिकाका प्रवक्ता नेपालीले बताए । ‘हाल बस्तीपनि छैन, भोलि सहरीकरण हुने खालको ठाउँपनि होइन, त्यसैले यसलाई उपयुक्त ठहर ग¥यौं’–उनले भने । निर्माणाधीन पोखरा एयरपोर्टबाट कम्तिमा १० किलोमिटर टाढा हुनुपर्ने एयरपोर्टको मापदण्डसमेतलाई ध्यानमा राख्दा उपयुक्त लागेको उनको भनाई छ ।
पोखराको उत्तरपूर्वी क्षेत्रमा रहेको र उचाईमापनि भएकाले पछि फोहोरको थुप्रो बढ्दै जाँदा त्यसको दुर्गन्ध पोखरासम्म आईपुग्छ कि भन्ने आशंका गरिएको छ । अर्कोतर्फ यो ठाउँ लेक भएकाले वर्षा धेरै भएको अवस्थामा बगेर आउनसक्ने समस्यापनि देखिनसक्ने प्राविधिकहरु बताउँछन् । स्थानियले भने आफूहरुको पानी खाने मूल सोहि क्षेत्रमा भएकाले ल्याण्डफिल साइट सार्न नदिने बताएका छन् । पोखरा २० का वडाध्यक्ष सीम गुरुङले त्यहाँ पोखरा २० का जनताले पानी खाने ५÷६ वटा मूल भएको र ल्याण्डफिल साइट त्यहाँ राख्दा उक्त मूलहरु मासिनुका साथै दुषित हुने बताए । जसका कारण आफ्ना वडाबासी काकाकुल बन्नसक्ने उनको भनाई छ ।
वडाध्यक्ष गुरुङले स्थानीयको सहमति बिना ल्याण्डफिल साइट सार्न नदिइने बताए । आफूसँग अध्ययन समितिले कुनै छलफलपनि नगरेको भन्दै उनले भने, ‘वडाध्यक्ष र जनताको सहमति नलिई गरिएको सिफारिस मान्य छैन । यो प्रस्तावमा मेरो असहमति छ । विकासका काममा आफ्नो सहमति भए पनि बिना जानकारी ल्याण्डफिल सार्दा त्यसले पार्न सक्ने प्रभावबारे महानगरले नसोंचेको उनको टिप्पणी छ । ‘हामीपनि विकास विरोधी होइनौं, पोखरामा जहाज आउनुपर्छ भन्ने पक्षमै छौं तर वडाबासीलाई काकाकुल बनाएर ल्याण्डफिल साइट बनाउन दिदैनौं’—उनले भने । उनले जबरजस्ती ल्याण्डफिल साइट सार्न खोजे त्यसको विरोधको नेतृत्व आफू गर्न तयार रहेको उनले चेतावनी दिए । स्थानियलाई खुशी पारेर काम अघि बढाउन भने सकिने उनको भनाई छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले उच्च प्रविधिको प्रयोग गरेर ल्याण्डफिल साइट बनाइने भएकाले चुहिने, दुर्गन्ध फैलिने सम्भावना नरहने दाबी गरे । उनले भने,‘प्रविधिको प्रयोग गरेर बनाइने यो पूर्ण रुपमा सुरक्षित हुन्छ, दुर्गन्ध फैलिने, चुहिने भन्ने त कुरै हुँदैन ।’
यसअघी ल्याण्डफिल साइट सार्ने भनिएको पस्मराङमा महानगरले छाडा चौपाया लगेर राखेको थियो । छाडा चौपाया लैजान स्थानियले विरोध गरेपछि महानगरले बाटो बनाईदिने, मलमूत्रको ब्यबस्था गर्नेलगायतका प्रतिबद्धता जनाएको थियो । तर सो ब्यबस्थापन नगर्दा स्थानियले मलमूत्र मिसिएको पानी खान बाध्य भएकालेपनि यसपटक ल्याण्डफिल साइटको विरोध गरेको बताइन्छ । वडाध्यक्ष गुरुङले भने,‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ भनेजस्तै अहिले स्थानियलाई त्यस्तै भएको छ ।’
कार्यपालिका बैठकमा ल्याण्डफिल साइटबारे निर्णय गर्ने प्रस्ताव आएपछि वडाध्यक्ष गुरुङले विरोध गरेका थिए । त्यसपछि नेपाली कांग्रेस र नेकपा एमालेका सचेतकहरु र प्रमुख प्रशासकीय अधिकृतले स्थानीयसँग अन्तरक्रिया गरेर प्रभावित क्षेत्रका नागरिकलाई खुसी पार्ने जिम्मा लिएका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल स्थानियको सहमतिबाटै ल्याण्डफिल साइटको काम अघि बढ्ने बताउँछन् । स्थानियसँग सहमतिका लागि चाँडै छलफल गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






