प्रकाश –मिना जोडीले उचाले पहिलो ‘दोहोरी च्याम्पियन’ को उपाधी


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित पहिलो दोहोरी च्याम्पियनको उपाधी प्रकाश पराजुली र मिना बुढाथोकीले उचालेका छन् ।

शनिबार पोखरामा सम्पन्न फिनालेमा पराजुली–बुढाथोकी जोडी विजयी घोषित भएका हुन् । विजयी भएका उनीहरुले उपाधीसहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितिय घोषित भएका छन् । उनीहरुले पुरस्कार स्वरुप १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

प्रतियोगिताको तृतिय स्थान सविन आचार्य र रिता रावतको जोडी घोषित हुँदा राजेन्द्र पाठक र मिना नेपालको जोडीले सान्तव्ना स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा तृतीय भएका आचार्य– रावतको जोडीले तीन लाख र सान्त्वना भएका पाठक– नेपाल जोडीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

हरेक हप्ताको शनिबार नेपाल टेलिभिजन मार्फत उक्त कार्यक्रम प्रशारण हुँदै आएको थियो ।

डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको हो ।

प्रतियोगिताको निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।

यस्तै कार्यक्रमको सञ्चालन गायक बद्री पंगेनी र गायिका प्रिती आलेले गर्दै आएका थिए । फिनालेमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने समेत घोषणा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।