यस वर्षको यमपञ्चक (तिहार) आजदेखि सुरु हुँदै

- यस वर्षको यमदीपदान आजदेखि सुरु हुने भएपनि काग र कुकुर तिहार भने भोलि परेको छ। आजै धनवन्तरी जयन्ती अर्थात आरोग्य दिवस पनि। आजै धनतेरस पनि


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७८ मा प्रकाशित





आज कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन।

हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।

आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भएपनि काग र कुकुर तिहार भने भोलि परेको छ। आजको बेलुका यमदीपदान सुरु हुन्छ। यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

भोलि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि भोलि नै परेको छ। तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको

आज धनवन्तरी जयन्ती अर्थात आरोग्य दिवस

आज कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन, धनवन्तरी जयन्ती अर्थात आरोग्य दिवस। आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइन्छ।

धनवन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गर्दछन्। विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो। आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो।

धनवन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत आज दिन विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती अर्थात् आरोग्य दिवस मनाउने गरिन्छ।

हातमा वैदिक हिन्दू दर्शनका ४ उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

जै धनतेरस पनि

आजै धनतेरस पनि परेको छ। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा धनधान्यले सम्पन्न हुने जनविश्वास छ।
धनतरेसको दिन कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, तस्बीर घर भित्राउनु निकै फलदायी हुनेछ। यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ। यस्तै, धन्तेरसमा सुन र चाँदी किन्नु पनि शुभ मानिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।