भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित




नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ ।

पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ रहेको छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । कूल सङ्क्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन् ।

मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ ।(रासस-एएएनआई)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।