अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको छैटौँ संस्करण पुस २ देखि


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




चितवन । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए।

उनका अनुसार दर्शनी सम्पन्न गर्न रु दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने छ । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सङ्घका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए ।

यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।