म्याग्दी। म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । उनले भने“उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।
गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए। कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु. १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ ।
कृषकले प्रतिकिलो रु. ५० देखि रु. ८० का दरले सुन्तला बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत ठाउँमा बिक्री हुँदै आएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताए । राखुमा रु. एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







