साङ्केतिक तस्विर
तनहुँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँका सरकारी कार्यालयले विकास निर्माणमा निकै कम रकम खर्च गरेका छन् । चालू आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि पुस मसान्तसम्म जिल्लास्थित सरकारी कार्यालयको पुँजीगत खर्च तीन प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
जिल्लाका लागि सङ्घीय सरकारबाट पुँजीगततर्फ रु तीन अर्ब ५३ करोड २३ लाख ३३ हजार ३६० विनियोजन गरिएकामा यस अवधिमा रु ११ करोड ६९ लाख ९४ हजार मात्रै खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । चालूतर्फ रु सात अर्ब ९० करोड १३ लाख ५१ हजार विनियोजन भएकामा रु तीन अर्ब ८९ करोड ३५ लाख ७४ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
चालूतर्फ भने करिब ५० प्रतिशत बजेट खर्च भइसकेको छ । प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये पुँजीगततर्फ १३।५० प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब पाँच करोड ९७ लाख ४८ हजार विनियोजन भएकामा रु २७ करोड ८० लाख ६३ हजार खर्च भएको छ ।
योजना छनोट गरी बोलपत्र आह्वान गरेर काम सुरु गर्दा केही समय लाग्ने भएकाले सुरुआती समयमा पुँजीगततर्फको बजेट खर्च कम देखिने कार्यालयले जनाएको छ । फागुन, चैतदेखि मात्रै विकास बजेट खर्च बढ्ने भट्टराईले बताए । बोलपत्र निकाल्ने, प्रक्रिया मिलाउनेलगायत काम पहिलो चौमासिकमा हुने भएकाले यस अवधिमा पुँजीगततर्फको बजेट कम खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







