पोखरा, माघ ११
गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) प्रकाशचन्द्र दवाडीले आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरु देखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिदै आएका छन् । उनले गत पुसदेखि यस वर्षको पुस मसान्त सम्ममा कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्चेका छन् । यस बिचमा उनले प्रदेश सांसदको हैसियतमा तलब, भत्ता र त्यसबाट बैंकमा रहँदा प्राप्त भएको ब्याजसमेत ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ प्राप्त गरेका छन् । त्यसमा ५ लाख ८१ हजार ४ सय ३८ रुपैँया थपेर कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ जनताको सेवामा खर्चिएको सांसद दवाडीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
सांसद दवाडीले शिक्षा, खेलकुद, भवन निर्माण, बाटो निर्माण, छात्रवृत्तिमा खर्च गरेका छन् । साथै उनले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेका विरामीको उपचार, औषधी खरिदलगायतमा पनि सहयोग गरेका छन् । न्यूनतम पाँच हजारदेखि अधिकतम पचास हजारसम्म सहयोग गरेका उनले ३१ शिर्षकमा खर्च गरेको पाइएको छ ।
प्रदेश सांसद दवाडीले राजनीति सेवा हो, त्यसैले सक्नेले राज्यको सुविधा लिनु हुन्न भन्ने उद्धेश्यबाट प्रेरित भएर जनताको सेवाका लागि आफूले पाएको सरकारी तलब, भत्ता खर्चिएको बताए । ‘आत्म सन्तोषका लागि जनताको सेवा गरेका हुँ, यसले राज्यलाईपनि जिम्मेवार भएर सेवा गर्न प्रेरित गर्ने विश्वास लिएको छु’–उनले भने । राज्यलाई कमजोर बनाउने वा आफू चर्चित हुनका लागि आफूले खर्च नगरेको उनको प्रष्टोक्ती थियो ।
फरक प्रसङ्गमा उनले सरकारको कामबाट जनता खुशी नभएको टिप्पणी गरे । सत्तारुढ नेपाली कांग्रेसका सांसद उनले भने,‘सरकारले काम गरिरहेकै छ । तर यो पर्याप्त भएन । जनता सरकारको कामबाट खुशी छैनन् ।’ उनले काममा ढिलासुस्ती हुने क्रम अझै नहटेको बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)का कारणपनि सरकारको काम प्रभावकारी हुन नसकेको हुनसक्ने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







