स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।
सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।“गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,” संयोजक भण्डारीले भने, “गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।”
समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले भने । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आउनुभएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट रु १७ लाख आम्दानी गरेका छन् । “गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “६÷७ जनाले रु चार लाखदेखि रु १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।”
भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले भने ।
यस्तै अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट नौ लाख आम्दानी गरेका छन् । उनीहरुजस्तै व्यावसायिक किसानहरुले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै यहाँ सुन्तला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउन किसानहरु आकर्षित भएका छन् ।
सुन्तलाका नयाँ बोट लगाउने र बगैँचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ– ७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







