माछापुच्छ्रे वडा नम्बर २ र ३ जोड्न सार्दीखोला घाचोक मोटरेवल पुल निर्माण धमाधम


     एभरेस्ट आवाज    
     माघ २२ गते २०७८ मा प्रकाशित




पोखरा, माघ २२

कास्कीको माछापुच्छ«े गाउँपालिकाको सार्दीखोला र घाचोक जोड्न सेती नदीमा पुल बनाउन थालिएको छ । माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर २ मा पर्ने सार्दीखोला र वडा नम्बर ३ मा पर्ने घाचोक जोड्नका लागि सेती नदीमा ‘सार्दीखोला–घाचोक मोटरेबल पुल’ बनाउन थालिएको हो । पुलको शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरे । शनिबार शिलान्यास गरिएपनि पुल निर्माण पहिल्यै शुरु भइसकेको थियो । पुलको हालसम्म २० प्रतिशत आर्थिक प्रगति भएपनि १० प्रतिशत निर्माण कार्य सकिएको छ ।

गण्डकी प्रदेश सरकारको १० करोड २८ लाखको लागतमा निर्माण गर्न लागिएको पुल निर्माणको जिम्मा हिम्दुङ एण्ड ठोकर÷रामजानकी जेभी.ले लिएको छ । पुल ७० मिटर लम्बाई र १०.५ मिटर चौंडाईको बन्नेछ । स्टिलको आर्क टाइपमा पुल बनाउन २०७८ साल साउन २५ गते सम्झौता भएको थियो भने २०८० साल साउन २४ गते सम्ममा बनाईसक्नुपर्ने सम्झौतामा उल्लेख रहेको पूर्वाधार विकास कार्यालय कास्कीका कार्यालय प्रमुख महेन्द्र बानियाले जानकारी दिए ।

सार्दीखोला–घाचोक जोड्न सेतीमा मोटरेबल पुल बनाउनका लागि २०७५ सालको बजेट र रातो किताबमा परेको थियो । तर त्यतिबेला कुल बजेटको २० प्रतिशत बजेट नछुट्टिदा काम भने शुरु भएन । पछि पुलको लम्बाई १० मिटर थप्ने योजना अन्तर्गत पुलको नया डिजाइन गर्दा थप एक वर्ष ढिलाई भयो । जसका कारण पुल करीब ४ वर्षपछि मात्रै निर्माण हुन लागेको हो । ढिलै भएपनि पुल निर्माण शुरु भएपनि स्थानिय हर्षित भएका छन् ।

माछापुच्छ«े–३ का वडाध्यक्ष सूर्य लम्साल मोटरेबल पुल संकटमा परेका स्थानिय जनताको खुशी बनेर आएको बताउँछन् । त्यस्तै माछापुच्छ«े–२ का वडाध्यक्ष विक्रम गुरुङले लामो पर्खाईपछि बन्न लागेको मोटरेबल पुलले आर्थिक समृद्धिमा सघाउने बताए ।

स्थानिय माओवादी नेतृ प्रविणा अधिकारी भने पुलले दुई क्षेत्रका जनताको भावना जोड्ने बताउँछिन् । ‘पुलले दुई वडा र त्यहाँका जनताबीच भौतिक सम्बन्ध त राख्छ नै, सँगसँगै दुई क्षेत्रका जनतालाई भावनात्मक एकतामा जोड्छ’–उनले भनिन् । नेपाली कांग्रेसका नेता मीनबहादुर गुरुङले पुल बनेपछि त्यहाँ उत्पादित वस्तुले बजार पाउने विश्वास व्यक्त गरे ।

पुलको शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनयुद्ध कालदेखि नै पुलको आवश्यक्ता महशुष गरेको र अहिले आफू मन्त्री भएको अवसरमा पुल बनाउन पाउँदा हर्षित भएको बताए । ‘पहिलेदेखि नै पहल गरिरहेको थिएँ, तर बल्ल यसले सार्थकता पाएको छ’–उनले भने । मन्त्री बरालले संघीयता आएपछि विकासले फड्को मारिरहेको बताए । उनले भने,‘बाटो, पुल, सिंचाई, बिजुली, खानेपानीलगायतका विकासका काम टोल टोलमा पुगेका छन्, यो सबै संघीयताको प्रतिफल हो ।’

माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले ढिलै भएपनि काम शुरु भएको बताउँदै अब यसलाई समयमै सम्पन्न गर्नेतर्फ स्थानिय सरकार लाग्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।