सहकारीको दूधलाई अनुदान


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




बागलुङ । बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो ।

यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ । अनुदान पाउनका लागि ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको केन्द्रका पशु अधिकृत केशव शर्माले जानकारी दिए ।

दुग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार–चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाइ छ । दैनिक २०० लिटरभन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा आठ मात्रै सहकारी छन् । जिल्लाका १० पालिकामध्ये बागलुङ र जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका किसानले मात्रै उक्त अनुदान सुविधा पाइरहेका छन् ।

काठेखोलाको चार , बागलुङ र जैमिनी नगरपालिकाका दुई ÷दुई सहकारी मार्फत उत्पादित दूधमा अनुदान दिइएको पशु अधिकृत शर्माको भनाइ छ । दूधमा अनुदान पाउनका लागि मापदण्ड पुगेका आठ सहकारीले रु १८ लाख रकम प्राप्त गर्ने छन् । ती सहकारीले वार्षिक सात लाख ५० हजार लिटरभन्दा बढी दूधको उत्पादन र बजारीकरण गर्दै आएका छन् ।

दूधमा दिने अनुदान आगामी वर्षसमेत निरन्तरता पाउने भएकाले किसानलाई सहकारीमार्फत बजारीकरण गराउने दूधको परिणाम बढाउन केन्द्रले आग्रहसमेत गरेको छ । दूधको उत्पादनमा दिइने अनुदानले किसानलाई दूध ढुवानीका लागि सहज भएको जनाइएको छ । बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीपक गौतमले अनुदानबाट पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुगेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।