आगलागी नियन्त्रणमा सहयोग गर्नेलाई श्रममन्त्री श्रेष्ठको धन्यवाद ज्ञापन, राहत दिन पहल गर्ने


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

मन्त्री श्रेष्ठले आगलागी नियन्त्रण गर्न मद्दत गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सिम्रिक एयरलाइन्स र स्थानीयवासीसहित सबैलाई धन्यवाद दिँदै यस्ता विपद्को स्थितिमा अझै सतर्क भई प्रतिकार्यको लागि तयार हुन आग्रह गरेका छन्।

साथै, आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने भरपर्दो उपायको व्यवस्था स्थानीय स्तरमा गर्नेतर्फ सरकार गंभीर रहेको मन्त्री श्रेष्ठले बताए।

मन्त्री श्रेष्ठको पहलमा काठमाडौँबाट लगिएको हेलिकप्टर, ८ वटा दमकल, ट्यांकर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा झन्डै ४ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो।

आगलागी अनियन्त्रित भएको र स्थानीय स्तरबाट निभाउन नसकिएको खबर आएपछि मन्त्री श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाणसहित सम्वद्ध अधिकारीहरूसँग समन्वय गर्नुका साथै सिम्रिक एयरलाइन्सका अध्यक्ष क्या.रामेश्वर थापा समेतलाई सहयोगका लागि आग्रह गरेका थिए।

सिम्रिक एयरको हेलिकप्टर लिएर विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रणको प्रशिक्षण लिएका प्राविधिक टोलीसहित मन्त्री श्रेष्ठ स्वयं घटनास्थल दमौली पुगेका थिए।

आगलागीका कारण भएको क्षतिको विवरण संकलन गरी राहत दिन पहल गर्ने मन्त्री श्रेष्ठले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।