होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित




पोखरा, चैत २२

होटल संघ पोखराले नेपाली नया वर्षको अवसरमा सडक महोत्सव गर्ने भएको छ । यसअघि फेवा नव वर्ष महोत्सव गर्दै आएको होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने भएको हो । रेवान पोखराले हरेक अंग्रेजी नया वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ ।

होटल संघ पोखरालेपनि यस वर्ष नेपाली नया वर्षको अवसरमा यहि चैत ३० गतेदेखि बैशाख १ गतेसम्म सडक महोत्सव गर्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । होटल संघले यसअघी कोमागाने पार्कमा महोत्सव आयोजना गर्ने गरेको थियो । तर यस वर्षदेखि रेवानकै शैलीमा लेकसाईडको तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्ने तयारी गरेको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ हुने महोत्सव कोभिडका कारण थला परेको पर्यटन पुनरुत्थान गर्ने उद्धेश्यले गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार महोत्सवको उद्घाटन दिन खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक ¥याली निस्केर लेकसाइडको मध्य क्षेत्र अम्बोटमा आएर उद्घाटन समारोहमा परिणत हुनेछ । महोत्सव उद्घाटनका लागि दुबै क्षेत्रबाट आमा समूह, क्लवलगायतका सहभागितामा झाँकीसहितको ¥याली निस्किनेछ ।

महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने जनाइएको छ । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिनेछन् ।

महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाइनेछ । जहाँ हरेक दिन दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य र लाइभ पप कन्सर्ट आयोजना हुनेछन् । यसअघी एउटा मात्रै स्टेजमा हुने गरेको कार्यक्रम यस वर्ष दुई स्टेजमा हुने अध्यक्ष सुबेदीले बताए ।

त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ ।

महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरुले छुट दिने ब्यबस्था मिलाइएको बताए । त्यस्तै, रेष्टुरेण्ट तथा बारहरुलेपनि अहिलेको भन्दा शुल्क नबढाउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडबाट थलिएको पर्यटन पुनरुत्थान गर्न महोत्सव कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटनमा कोभिडको असर परेपनि पछिल्लो क्रममा पर्यटन पूर्वाधार थपिएकाले पर्यटकको बसाई लम्बिने स्थिति बनेको बताए । त्यसमा महोत्सवले पर्यटक आगमनमा बृद्धि ल्याउने उनको भनाई छ ।

होटल संघले यस वर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ । कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरुले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुबेदीले बताए ।

होटल संघ पोखराले नेपाली नया वर्षमा आयोजना गर्ने सडक महोत्सवबारे जानकारी गराउँदै आयोजक । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।