फेवा गाउँ र फेवातालमै बहस

- ‘लोकल इलेक्सन’ मा यस्तो छ, पोखरा–६ का उम्मेवार भट्टराई र पहारीका एजेण्डाहरु


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०७९ मा प्रकाशित




नेपालकै गन्तव्य पोखरा। पोखराकै गन्तव्य लेकसाइड। पुरानो फेवा गाउँ, अहिलेको वैदाम। अर्थात, विदेशको झल्को दिने आधुनिक लेकसाइड। वैदाम क्षेत्रको मुटु फेवाताल। फेवाताल, वैदाम तालको रुपमा पनि परिचित छ।

वैदाम क्षेत्र, पोखरा आउने जो कोही आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि नगई नहुने एउटा प्रमुख गन्तव्य हो। सुविधाका दृष्टिले वैदाम क्षेत्र स्मार्ट बन्नुपर्ने हो। तर, त्यस्तो छैन। अन्राष्ट्रियस्तरको झल्को दिने लेकसाइड बजार सोंचेजस्तो व्यवस्थित छैन।

लेकसाइड बजार क्षेत्रका सडक तथा बाटोघाटोहरु साँघुरा छन्। विजुलीका पोलहरुमा टांगिएका विजुली, केबुल र इन्टरनेटका तारहरु यत्र तत्र झुण्डिएका छन्। वैदाम क्षेत्र फोहर मैलाबाट मुक्त हुन सकेको छैन। त्यहाँ संचालित डिस्को, डान्सबारबाट निस्कने कोलाहलले वैदामवासीको निद्रा हराउने गर्दछ।

र्यटकीय क्षेत्र लेकसाइडको बजारमा पार्किङको समस्या छ। बजारको अवलोकन गर्न निस्केका पर्यटकका लागि सार्वजनिक शौचालयहरु बन्न सकेका छैनन्। भित्री वैदामका होटलमा आवत–जावतका लागि पर्याप्त लाइटको व्यवस्था हुन सकेको छैन। पर्यटकहरुको सुरक्षाका हिसावले वैदामको सबै क्षेत्रमा सीसी क्यामेराहरु जडान गरिएका छैनन्।

फेवाताल सफा सुग्घर हुनुपर्ने हो, तर त्यस्तो छैन। तालमा ढलहरु मिसाइएका छन्। वर्षेनी त्यहाँ उम्रने जलकुम्भीले फेवातालको कौमारित्व र सुन्दरता नै लुट्ने गर्छ। ताल किनारमा पानी लगायत पेय पदार्थका बोत्तल र मरेका पशुपंक्षीहरु यत्रतत्र तैरिएको देखिन्छन्।

वैदाम क्षेत्रमा वसुन्धरा, कोमागाने पार्क, रत्नमन्दिर र हिमागृह लगायतका मनोरञ्जनका पार्क एवं उद्यानहरु छन्। वसुन्धरा र कोमागाने पार्क व्यवस्थित छैन। सर्वसाधारणका लागि रत्न मन्दिर र हिमागृह खुल्न सकेका छैनन्। एक वडा, एक खेलकुद मैदान हुनु पर्ने हो, खेलकुद मैदानहरु छैनन्।

स्थानीय निर्वाचन नजिकिदै गर्दा पोखरा–६, फेवा गाउँ, वैदामका उम्मेदवारहरु उक्त वडालाई पोखराकै स्मार्ट वडा बनाउने शंखघोष गर्दछन्। सो वडाका लागि वडाध्यक्ष पदका उम्मेदवारहरु बिष्णुबहादुर भट्टराई (नेकपा एमाले) र जगतबहादुर पहारी (नेपाली काँग्रेस) चुनावी कडा प्रतिस्पर्धामा छन्।

वैदाम क्षेत्रको वडा नं ६ लाई स्मार्ट वडा बनाउने कुरामा दुई उम्मेदवारबीच दुईममत छैन।

एभरेस्ट एफएम ९३ मेघाहर्जको चुनावी सम्वाद कार्यक्रम ‘लोकल इलेक्सन’ मा बोल्दै उनीहरुले आफ्नो वडालाई स्मार्ट बनाउने प्रतिबद्धता जनाएका छन्।

पोखरा महानगरलाई स्मार्ट सिटि बनाउने अवधारणा आइरहँदा त्यसको सुरुवात आफ्नै वडाबाट सुरु गर्ने भट्टराईको प्रतिबद्धता छ। भट्टराइले मास्टर प्लानसहित सफा सुग्घरसहितको वैदाम क्षेत्र र फेवाताल बनाउने कुरामा आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता जनाए।

वैदामका वडावासीलाई वडा कार्यालयबाट प्रदान गर्ने सेवा र यहाँ आउने पर्यटकलाई शुशासनको अनुभूती गर्ने गरी काम गर्ने भट्टराइले बताए। फिस्टेल लजदेखि ड्यामसाइड र फेवातालको मुहानसम्म ताल वरपर फूट ट्रयाक बनाउने भट्टराईको योजना छ।

भट्टराई भन्छन्, ‘पोखराको पर्यटकीय क्षेत्र वैदामबाट मात्रै सरकारले प्रसस्त कर उठाएको हुन्छ। त्यस क्षेत्रको आवश्यक भौतिक पूर्वाधार विकासका लागि पनि सरकारबाट काम लिन सक्नुपर्छ। त्यसका लागि मैले सामथ्र्य राख्दछु।’

नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका जगतबहादुर पहारीले यसअघि पूरा गर्न नसकेका कामहरुलाई आगामी ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदछन्। उनले भने, ‘यसअघि पूरा हुन नसकेका कामहरुलाई अब, पूरा गर्छु।’

पहारी यसअघिका पनि सो वडाका जनप्रतिनिधि प्रमुख हुन्। केन्द्र सरकारबाटै असहयोग गरेकाले आफूले सोंचेजस्तो वैदाम क्षेत्र र फेवातालको संरक्षण, प्रबद्र्धन गर्न नसकेको पहारीको गुनासो छ। विश्वव्यापी महामारी कोभिडका कारण पनि केही कामहरु रोकिन पुगेको उनको तर्क छ।

तर, ५ वर्षमा वडामा धेरै काम भएको पहारीले दाबी गरे। वडाको विकास गर्न जनप्रनिधिमा इमान्दारिता र सरलपना हुनैपर्ने उनको जिकिर छ। आफ्नो इमान्दारिता र सरलपनाले गर्दा पनि वडावासीमाझ आफूले शुशासन कायम राखेको पहारीले बताए।

‘आफ्नो इमान्दारिता र सरलपनाका कारण पनि वडावासीलाई सहज ढंगले सेवा प्रदान गरेको अनुभव छ। अबको ५ वर्षमा पनि बाँकी रहेका कामहरु पूरा गर्ने प्रयास रहन्छ। स्मार्ट सिटी बन्न व्यक्ति विशेषदेखि, टोल र वडा स्मार्ट बन्नै पर्दछ। मेरो ध्यान त्यतातर्फ छ।’

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका पहारी पार्टीको कास्की जिल्ला क्षेत्र नं ३ ‘ख’ का कोषाध्यक्ष हुन्। त्यस्तै, नेकपा (एमाले)बाट उम्मेदवार बनेका भट्टराई पार्टीको पोखरा महानगर कमिटीका सदस्य हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।