पोखराबाट जुर्मुराएको अटेरी


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित




तिमी
एउटा दलमा।
म
अर्को दलमा।
हामी सब दलदलमा।
हामी सब दलहरूको दलदलमा।
…
लेखक कुमार नगरकोटीको यो कविताले भने झैं हामी सबै दलको दल दलमा फसि रहेका छौं। उपलब्धीरहित दलको दलदलमा आखिर कहिलेसम्म फस्ने ? सत्ता र शक्तिको स्वार्थमा दलदलमा कहिलेसम्म फसि रहने हामी? यो फोहोर मैला कहिले सफा गर्ने? कसले गर्ने?

हो, दलको दलदलबाट मुक्त हुन आह्वान गर्दै पोखराबाट जुर्मुराएको केही उर्जाशिल युवाहरुको समुह आसन्न निर्वाचनमा होमिदै छ। स्वायत्त स्थानीय तह दलीय भागबण्डाले कुरुप भएको भन्दै पोखराबाट गनेस पौडेलको परिकल्पनामा सुरु भएको थियो अटेरी अभियान।

स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बित्तिकै, फ्याट्ट पोखरा महानगर प्रमुखको उम्मेद्वारी घोषणा गरेका पौडेलले, राजनीतिको मैलो सफा गर्ने अभियान चाले। उनले मुख के खोलेका मात्र थिए। उनको यो अभियानलाई साथ दिने हातहरु थपिदै अन्तत : अटेरी अभियानमा जोडिएर देशभरका स्थानीय तहबाट स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या ४ हजार बढी पुगी सकेको छ। पब्लिक स्पेशमा अटेरी अभियानको उद्देश्य र मर्मबारे राम्रै तारिफ पनि छ।

सुरआतबाटै केही फरक, नयाँ शैलीमा आफूलाई उभ्याउँदै आएको यो समुहले चुनावी घरदैलो सकाएको छ। घरदैलो पनि कस्तो भने पोखराका ३३ वडाका सबै वडाबासीको घरमा पुगेनन् अटेरी उम्मेद्वार। चौतारा, चोक। पायक पर्ने ठाउँमा, जम्मा भए जतिलाई आफ्नो अभियानबारे बुझायो। जतिले बुझे, उनीहरुले राम्र्रै रुपमा लिए।

वडा नम्बर १५ तल्लो जनशक्ति टोल आमा समुहको अध्यक्ष एलिना पराजुलीले अटेरी अभियानलाई जितको शुभकामना दिइन्। आफ्नो घरटोलमा आएको समुहलाई स्वागत गर्दैै उनले जितको शुभकामना दिइन्।

‘अटेरी अभियानलाई एकदमै जितको शुभकामना छ। अभियानले महिला सशक्तिकरणदेखि पोखरा बनाउन बनाएको योजना एकदमै तारिफ योग्य छन्, अटेरी अभियानका उम्मेद्वारहरुले चुनाव जित्नुपर्छ। जितको एकदम धेरै शुभकामना छ,’ शुभकामना दिँदै उनले भनिन्।

वडा नम्बर १९ को सुशिल क्षत्री पनि राजनीतिमा अटेरीको हस्तक्षेपले उत्साहीत छन्। ‘केही गरौं भनेर युवाहरु यसरी लाग्नुभएको छ। राजनीतिक दलभन्दा बारिहबाट आउनु पथ्र्यो आएको छ। अटेरी अभियानले चुनाव जित्नुपर्छ, हामी सबैले विवेक प्रयोग गरेर मतदान गरौं, अटेरी अभियान हारे हामी हाछौं,’ उनले भने।

वडा नम्बर ५ को घरदैलोमा सोही वडाकै सफल शर्माले अटेरी उम्मेद्वारले जिते मात्रै राजनीतिको धुलोमैलो पखालिने बताए।

यसपटक अटेर गरे मात्रै भोलिका सन्ततिको भविष्य सुधार हुन सक्ने बताउँदै उनले अटेरी अभियानलाई जिताउन अपिल गरे।

सोमबार पोखराका ४ वडाको घरदैलो सकाएर फर्केको अटेरी नागरिकस्तरबाट पाएको साथ सहयोगले दंग छन्। अभियानप्रति देखाएको उत्साह हेर्दा भन्न सकिन्छ। अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्की चुनावी घरदैलोमा देखिएको नागरिक उत्साहलाई लिएर दंग छन्।

‘घरदैलो भनेर घरघरै पुगेका पनि होइनौं। टोल विकास समिति, विभिन्न युथ फोरम, आमा समुहको निम्तोमा हामी पुग्ने र अभियानबारे बुझाउने काम ग¥यौं,’ कार्की भन्छन्, ‘हाम्रो अभियानबारे त बुझ्नु भयो नै, हामीले ल्याएका पोखरा बनाउने योजना पनि एकदमै मन पराउनु भएको छ। हामी चुनावमा जान एकदमै उत्साहीत छौं,’ कार्की थप्छन्।

यसरी, स्थानीय राजनीतिको फोहोर मैलो सफा गर्न पोखराबाट जुर्मुराएको अटेरी अभियानमा पोखरा महानगर प्रमुख सहित १० वडामा वडाध्यक्ष र ६ वडासदस्य सहित १७ अभियन्ताहरुले उम्मेद्वारी दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।