नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७९ मा प्रकाशित




सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन्।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले प्रदेशकै गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा ल्याइने उल्लेख गरिन् । नीति तथा कार्यक्रममा हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउनेमा जोड दिइएको छ।

सरकारले वायुसेवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गर्ने भएको छ। गण्डकीको हिमाली जिल्ला मनाङका हिमतालको पानीको सतह घटाइने भएको छ। हिमताल विस्फोटको जोखिम न्यून गर्न मनाङसँगै सोलुखुम्बु र संखुवासभामा त्यस किसिमको कार्यक्रम सञ्चालन गरिने उल्लख छ।

हिमताल र नदीका तल्लो तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली सञ्चालन गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा गरेको छ।

एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजना सरकार आफैँले बनाउने निर्णय यसअघि नै गरे पनि नीति तथा कार्यक्रममै समेटेर आयोजना अघि बढाइने भएको हो । उक्त आयोजना लामो समयदेखि बन्न सकिरहेको थिएन।

यस्तै, प्रदेश सीमांकनका क्रममा नयाँ थपिएको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा आवश्यक सरकारी कार्यालय भवनहरु निर्माण गरिने भएको छ। गण्डकी प्रदेशका कैयन जिल्लालाई छिचोल्ने राष्ट्रिय गौरवका सडक आयोजना कालीगण्डकी करिडोर र पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण एवं स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस प्रदेशमा पर्ने गण्डकीलगायतका नदीको बहृत् जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापन योजनालाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

बहुपयोगी संरक्षण पोखरी एवं ताल निर्माण र व्यवस्थापन, पानीका मुहान संरक्षण, आकस्मिक पहिलो तथा भूस्खलन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।

गण्डकीलगायतका नदी प्रणालीहरुमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गरिने उल्लेख छ। वैदिक, पौराणिक ग्रन्थमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गरिने भएको छ।

प्रदेशस्तरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, दुई मेडिकल कलेजलगायत ठूला पूर्वाधार विकासका योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।