पोखरा–१६ का नवनिर्वाचित वडाध्यक्ष तिमिल्सिनाले यस्तो घोषणा गरे

- स्वास्थ्य संस्थामा प्रसुती गराउनेलाई एक हजार पोषण रकम, एम्बुलेन्स निःशुल्क


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७९ मा प्रकाशित




स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षमा निर्वाचित अमृत शर्मा तिमिल्सिनाले बिहीबार पदबहाली गरेका छन्।

उनले वडाका १०४ वर्षीया वृद्धा फत्यकुमारी केसीको हातबाट आर्शिवाद लिएर आफ्नो जिम्मेवारी सम्हालेका छन्।

पदबहालीसँगै वडाध्यक्ष तिमिल्सिनाले ३ वटा निर्णय गरेका छन्। उनले वडाभित्र रहेका स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य चौकी अर्मला र मातृशिशु मितेरी अस्पतालमा गएर प्रसुती गराउने वडाका स्थायी बासिन्दा महिलाहरुलाई पोषण खर्च बापत १ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेका छन्। त्यसैगरी, स्वास्थ्य चौकी र अस्पताल आउँदा लागेको एम्बुलेन्स खर्चको रकम समेत वडा कार्यालयबाट उपलव्ध गराइने वडाध्यक्ष तिमिल्सिनाले बताएका छन्।

त्यसैगरी, पदबहालीका क्रममा तिमिल्सिनाले विसं २०७४ मा निर्वाचित भई कार्यकाल पूरा गरेका वडाध्यक्ष र सदस्यहरुलाई सफलतापूर्वक कार्यकाल पूरा गरेकामा धन्यवाद व्यक्त गरे। वैशाख ३० गतेको निर्वाचनमा सहयोग गर्ने सवै मतदाता लगायतलाई धन्यवाद समेत व्यक्त गरिएको छ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा तिमिल्सिना नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका हुन्। वडाका अन्य सदस्य पदमा भने एमाले उम्मेदवारहरु विजयी बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।