इम्बोस्ड नम्बर प्लेट शुल्क १८७५ लिनुपर्नेमा ३१०० लिएको भन्दै आपत्ति


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर ।

पोखरा । पोखरा नेपाल उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्च गण्डकीले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नागरिकलाई ठग्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

संघका प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले निकालेको संयुक्त विज्ञप्तिमा औसतमा १ हजार ८७५ रुपैयाँ पर्ने इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ३ हजार १ सय रुपैयाँ उठाउन खोजेको भन्दै आपत्ति जनाइएको छ ।

देश संघीयतामा गइसकेका कारण सवारी साधन दर्ता र नम्बर प्लेट दिने अधिकार प्रदेशमा आउनुपर्नेमा रातारात यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने भनी गरेको निर्णय बदनियतपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले इम्बोस्ड नम्बर प्लेट ठेक्का खारेज नभए कुनै पनि कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

२ वर्षदेखि लाइसेन्स पनि नवीकरण गर्न नसकेको यातायात व्यवस्था विभागसँग इम्बोस्ड नम्बर रिड गर्न आवश्यक प्रविधि नै नभएको दाबी संघ र मञ्चले गरेका छन् ।

यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधानमा अनिवार्य इम्बोस्ड नम्बर राख्नु पर्ने व्यवस्था गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।