बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

बागलुङ । सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्र्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ५० लाख बजेट छुट्ट्याएको छ ।

सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आउँदो आवका लागि सो बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । उक्त सुरुङ मार्गको प्राररम्भिक अध्ययन गरिने चर्चा बेलाबेला चल्ने गरे पनि सरकारले पहिलो पटक बजेटको प्रबन्ध गरेको हो ।

शिक्षामन्त्री एवं बागलुङ–२ का सङ्घीय सासंद देवेन्द्र पौडेलले रातो किताबमा समावेश भएर आएकाले सम्भाव्यता अध्ययनको योजना छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोग र मन्त्रालयका पदाधिकारीसँग भेटेर सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन गर्न आफूले पहल लिएको मन्त्री पौडेलको भनाइ छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा घण्टौँको यात्रा केही मिनेटमै छोटिने गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बताए ।

उक्त सुरुङ मार्ग बनेमा यातायातसँगै यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्ने देखिएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माणको योजनालाई अघि बढाएको छ । कुनै सुरुङमार्गको निर्माणकार्य सुरु भइसकेको छ, भने कुनै अध्ययनको चरणमा छन् ।

आउँदो आवमा २४ योजनाका लागि मन्त्रालयले रु एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको छ । त्यसमध्ये गण्डकी प्रदेशको राजधानी पोखराको हेम्जादेखि नयाँ पुल जोड्ने सुरुङमार्ग पनि छ ।

उक्त योजनाका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमै पर्ने उक्त सुरुङमार्ग निर्माण भएमा अहिलेको डेढ घण्टाको दूरी १५ मिनेटमा छोटिने जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।