पोखराले दुध, फलफूल, तरकारी, माछा र मासुको आयात प्रतिस्थापन गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा आयात हुने दुध, फलफुल, तरकारी, माछा र मासुको आयात प्रतिष्थापन गरिने भएको छ । पोखरा महानगरपालिकाले पोखरामा आयात हुने यी खाद्य वस्तुको प्रतिस्थापन गर्ने जनाएको हो । पोखरा महानगरपालिकाको बुधबार प्रस्तुत नीति तथा कार्यक्रम २०७९ मा यी खाद्य वस्तुको आयात परिणामको अध्ययन गरी ५ वर्ष भित्रमा प्रतिस्थापन गरिने उल्लेख छ ।

पोखरा महानगरपालिकाले खाद्य वस्तुमा आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन गर्नेलगायतका उद्देश्य पूरा गर्न कृषि पूर्वाधार निर्माण गर्ने जनाएको छ । जसका लागि नेपाल सरकार, प्रदेश सरकार र निजी क्षेत्र समेतको सहकार्यमा कष्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र व्यवस्थापनलगायतका कार्यहरु गर्ने जनाएको छ । त्यस्तै, अध्ययन, अनुसन्धान र प्रमाणका आधारमा रैथाने कृषि उपजको संरक्षण, सम्वर्धन र व्यावसायीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई व्यवसायीकरण गर्न सामुहिक र सहकारी खेती प्रणालीको प्रवद्र्धनका साथै प्रोत्साहन गर्न भण्डारण स्थल एवम् कोल्डस्टोर निर्माण कार्य शुरु गरिने जनाइएको छ ।

पोखरा महानगरपालिकाले सिंचाई सुविधा नपुगेका ग्रामीण र पहाडी क्षेत्रमा प्रविधिमा आधारित लिफ्ट सिचाईं प्रणाली प्रवद्र्धन गर्ने, समथर भुभागमा रहेका सिचाईं प्रणालीको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउन जमीनको दीगो उपयोग गर्ने नीति लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।